सीमामा हुने अपराध नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षा अधिकारी बिच जोलजिविमा छलफल

0
1149

दार्चुला, चैत्र ३ गते । 


नेपाल भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीहरु विच भारतको जोलजिविमा छलफल भएको छ । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुबै देशका सीमा क्षेत्रमा तैनाथ रहेका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा सुरक्षा बैठक बसेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराधहरु, चेलिबेटी बेचविखन, तस्करी लगायतका आपराधिक क्रियाकलाप विरुद्ध दुबै देशका सुरक्षाकर्मीहरुको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको डिएसपी भट्टले बताउनुभयो ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरु बिच बेलाबेला यस्ता किसिमका बैठकहरु हुने गरेका छन् । यस बर्ष ७ पटक नेपाल–भारतका सीमा सुरक्षा अधिकारीहरु विच बैठक भएको उहाँले बताउनुभयो । आवश्यकताका आधारमा एक देखि डेढ महिनामा यस्ता किसिमका बैठकहरू हुँदै आएको डीएसपी भट्टले बताउनुभयो । यस अघि दार्चुला र भारतको पिथौरागढका प्रमुख जिल्ला अधिकारी स्तरमा भर्चुअल रुपमा बैठक भएको थियो । कोरोनाको दोस्रो लहर पछि सीमा सुरक्षा अधिकारीहरुको यो पहिलो बैठक भएको उहाँले बताउनुभयो ।
सीमा सुरक्षा अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्ट, दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्ट, दत्तु विओपी तथा प्रहरी चौकीका प्रमुख, लालि विओपी तथा प्रहरी चौकीका प्रमुख लगायत सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरुको सभागिता रहेको डीएसपी भट्टले बताउनुभयो ।
भारतको तर्फबाट सीमा बैठकमा एसएसबी ५५ वी वाहिनि एचोलीका एसएसबी कमाण्डेन्ट अजय पाण्डे, धार्चुलाका एसएसबी प्रमुख, प्रहरी प्रमुख लगायत सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।