दार्चुला सदरमुकामकै पसलमा हुन्छ चरेसको बिक्री 

0
630

दार्चुला, चैत्र ४ गते । 
दार्चुला सदरमुकाम खलंगाको भित्री गल्लीमा रहेको एउटा पसलबाट प्रहरीले चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।तल्लोसैन क्षेत्रको एउटा किराना पसलमा चेकजाँच गर्दा ६ सय १० ग्राम चरेस सहित पसलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो ।

पक्राउ पर्नेमा व्यास गाउँपालिका वडा नं ५ धौलाकोट घर भई सदरमुकाम खलंगा बस्दै आएका मोहन सिह विष्ट रहेको उहाँले बताउनुभयो । पक्राउ परेका विष्ट व्यास गाउँपालिका वडा नं ५ मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य समेत रहेको बुझिएको छ । सदरमुकाममा रहेको आफ्नै घरमा विष्टले पसल थापेका थिए । पसलको डिब्बामा ससाना प्याकेट बनाएर राखेको अवस्थामा प्रहरीलाई चरेस फेला परेको छ। यस घटनाले दार्चुला सदरमुकाम खलंगाको भित्री गल्लीमा खोलिएका पसलहरुमा चरेसको अवैध कारोबार हुने खुलेको छ ।