सदरमुकामबाटै गाउँपालिका र वडा कार्यालयको सेवा

0
2036

दार्चुला, माघ ११ गते ।
व्यास गाउँपालिकाले जिल्ला सदरमुकामबाटै गाउँपालिका र वडा कार्यालयको सेवा दिइरहेको छ । सिंहदरबार गाउँमा पुगेको भनिए पनि गाउँपालिका केन्द्र र वडा कार्यालयबाट दिइने सेवा खलंगामा सम्पर्क कार्यालय खोलेर दिइदै आएको छ ।
व्यास गाउँकार्यपालिका र २ नम्बर वडा कार्यालयको सेवा खलंगास्थित सम्पर्क कार्यालयमा दिइदै आएको छ । यद्यपि औपचारिक रुपमा सम्पर्क कार्यालय सञ्चालन गरिएको छैन । ‘जनताको सजताका लागि केही सेवा खलंगाबाटै उपलब्ध गराइएको’ गाउँपालिका प्रवक्ता धिरनसिह बुढाथोकीले बताउनुभयो ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगास्थित राजाकोठ युवा क्लवको कार्यालयमा गाउँपालिका र २ नम्बर वडा कार्यालय सञ्चालन गरिएको छ । घरभाडामा युवा क्लवको कार्यालय सञ्चालन गरिएको छ । गाउँपालिका र वडा कार्यालयले भने घरभाडा तिर्नु नपरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
‘दुई नम्बर वडाका करिब ६० प्रतिशत जनताको बसोवास खलंगामा छ, खलंगाबाटै सेवा उपलब्ध गराउदा सहज हुन्छ’ व्यास गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षसमेत रहनुभएका प्रवक्ता धिरनसिह बुढाथोकीले भन्नुभयो । वडा कार्यालयले नागरिक सिफारिस जस्ता सेवाहरु खलंगाबाटै उपलब्ध गराएको उहाँले बताउनुभयो ।
खलंगामा गाउँपालिका र वडा कार्यालयको साइनबोर्ड र छुट्टै कार्यकक्ष नराखिए पनि सेवाग्राही राजाकोठ युवा क्लवको कार्यालयमा पुग्ने गर्दछन् । राजाकोठ युवा क्लवले ३ कोठा भाडामा लिइ कार्यालय सञ्चालन गरेको छ । आवश्यकताअनुसार क्लवकै कार्यालय रहेको कोठा गाउँपालिका र वडा कार्यालयका लागि प्रयोग भइरहेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
गाउँपालिका र वडा कार्यालयले सम्पर्क कार्यालयको साइनबोर्ड र छुट्टै कार्यकक्ष नराखे पनि सार्वजनिक सुचना भने खलंगाको सुचना पाटीमा टाँस गर्ने गरेको छ । राजाकोठ युवा क्लवको सुचनापाटीमै गाउँपालिकाका सुचना टाँस गरिएका छन् ।
व्यास गाउँ कार्यपालिकाका सेवा पनि खलंगाबाट सञ्चालन गरिएका छन् । धेरैजसो कर्मचारी समेत खलंगामै उपलब्ध हुने गरेका छन् । गाउँपालिकाको संरचना बनेदेखि गाउँकार्यपालिकाका केही बैठक समेत खलंगामा बसेको एक कर्मचारीले बताउनुभयो । ‘जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैले सजिलो महशुस गरेका छन्’ ती कर्मचारीले भन्नुभयो, ‘नागरिकता बनाउने, जग्गाको काम र बैंकिङ सेवा खलंगामा भएकाले सबैजसोले खलंगाबाट सेवा दिनुलाई सामान्य ठानेका छन् ।’
गाउँ कार्यपालिकाका केही आकस्मिक बैठक खलंगामा राखिएको गाउँपालिका प्रवक्ता धिरनसिह बुढाथोकीले पुष्टि गर्नुभयो । पछिल्लो पटक माघ २ गते खलंगामा कार्यपालिका बैठक बसेको उहाँले जानकारी दिनुभयो ।