दार्चुलामा छ महिनामा ४६ मानिस हराए

2152

दार्चुला, माघ ११ गते ।
दार्चुला जिल्लामा ६ महिनाको अवधिमा ४६ मानिस हराएका छन् । हराएकामध्ये २७ जना फेला परे पनि १९ जना अझै हराइरहेको दार्चुला प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको प्रथम ६ महिनाको अवधिमा ४६ जना हराएको उजुरी प्रहरीमा दर्ता भएको प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले बताउनुभयो । हराउनेमा महिलाको संख्या २२ छ । पुष मसान्तसम्मको अवधिमा १२ वालक, ५ वालिका र ७ पुरुष हराएको प्रहरीको तथ्यांक छ ।
हराएकामध्ये ९ महिला, ५ पुरुष, ३ वालक र २ वालिका फेला परिसकेको दार्चुला प्रहरी प्रमुख डिएसपी शाहीले बताउनुभयो । हराउनेमा युवा उमेर समूहमा मानिस बढी छन् । १८ वर्षमुनिका १८ जना हराएकोमा १३ व्यक्ति फेला परेका छन् ।
१९ देखि ३० वर्ष उमेर समूहका २१ व्यक्ति हराएकोमा १२ जना फेला परिसकेको प्रहरी तथ्यांक छ । ३१ देखि ५० वर्ष उमेर समूहका ४ जना हराएकोमा ३ जना भेट्टिएका छन् । ५१ देखि ७० वर्ष उमेर समूहका एकजना हराएको फेला परिसकेका छन् भने ७० वर्षभन्दा बढी उमेरका १ जना हराइरहेका छन् ।
हराउने मानिसमध्ये जातिगत समूहका आधारमा सर्वाधिक क्षेत्री जातीका ३२ जना छन् । दलित समुदायका ८ जना, ब्राह्मण जातीका ३, जनजाति १ जना र अन्य समुदायका २ जना हराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीले मान्छे हराउनुको कारण सम्बन्धि विवरण पनि सार्वजनिक गरेको छ । घरायसी समस्याले ३१ जना, आर्थिक अभावले ३ जना, माया प्रेमका कारण २ जना र मानसिक तनावले ३ जना हराएको प्रहरीले जनाएको छ । यसैगरी, साथी संगतिले ६ जना र सामाजिक सञ्जालका कारण १ जना हराएका छन् ।
हराएकामध्ये फेला परेका २७ जनाको विवरण प्रहरीले तयार पारेको छ । दार्चुला प्रहरीका अनुसार फेला परेकामध्ये १९ जना आफ्नो घर फर्किएका छन् । २ जनाले दोस्रो विवाह गरेका छन् भने ६ जना भारत गएको पुष्टि भएको छ ।
दार्चुलामा मानिस हराउनेक्रम बढिरहेको प्रहरी भनाई छ । गत आर्थिक वर्षमा जिल्लाभरी ६४ मानिस हराएका छन् । अघिल्लो वर्ष २०७४÷७५ मा ३३ जना र २०७३÷७४ मा ३४ जना हराएको प्रहरी तथ्यांक छ ।
चालु आर्थिक वर्षमा हराइरहेकामध्ये ३ जनाको अपराध अनुसन्धान महाशाखाबाट समेत खोजतलास भइरहेको प्रहरी निरीक्षक सुरेश जोशीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !