सडक दुर्घटना कम गर्न

2255

रात्रिकालीन जात्राको औचित्य कम हुँदै गएको र अब दिवशीय जात्रा, पूजा, आराधनाको सुरुवात गर्नु पर्ने वहषको सुरु गरिएको दिन मालिकार्जुन मन्दिर जात्राबाट फर्किदै गरेका यात्रु बोकेको मिनि बस दुर्घटना भएको छ । दुर्घटनाका अन्य कारण हुन सक्छन् तर रात्रीकालीन जात्रा नै त्यसको आधार र कारण हो भन्ने कुरालाई पनि नकार्न सकिने अवस्था छैन । रात्रीकालीन जात्रा भएकै कारण उनीहरु मन्दिर क्षेत्र गए, बिहान काममा फर्किनु पर्ने भएकाले जसरी पनि फर्किने भन्दै उनीहरु बस चढे । सम्भवतः चालक पनि अनिदो मै हुनु पर्दछ । अँध्यारो र शीत परेको सडकले थप समस्या सिर्जना गरेको सक्छ जसका कारणले दुर्घटनालाई मूर्त रुप दिन सहयोग पुग्यो । यी कुरा कल्पना मात्रै होइनन्, वस्तुतः सत्य पनि हुन् । रात्रिकालीन जात्रा नै कारण हो भने अन्य दुर्घटनाहरु किन भएनन् ? भन्ने प्रश्न पनि आउन सक्छ । तर एउटा सापेक्ष कुरा के हो भने, डडेल्धुरामा भएको बस दुर्घटना र हाम्रोमा भएका भएको बस दुर्घटनाका मृतक र घाइते जात्राबाट फर्किदै गरेका स्थानीयहरु छन्, भक्जनहरु छन्, रात्रि पूजा गर्न वा जात्रा हेर्ने गएका नागरिक मात्रै छन् । तसर्थ यो सापेक्षतालाई नकारेर रात्रिकालीन जात्राका कारण दुर्घटना भएकै होइन भन्ने कुराको ठोकुवा गर्न सकिने अवस्था छैन ।
दुर्घटनाले आफैमा नकारात्मक र पिडादायी परिस्थिति सिर्जना गरेको हुन्छ । यतिबेला सरोकारवाला सबैको मन मष्तिष्कमा घटनका दृष्यहरु दोहोरिदै होलान् । यसका कारण र परिणामका वारेमा समीक्षा हुँदै होला तर महत्वपूर्ण कुरा के हो भने पहाडि बाटोको सडक यातायातलाई कसरी व्यवस्थित बनाउने ? कसरी यात्रुहरुलाई सुरक्षित गन्तब्यमा पुर्याउने ? यसका लागि सरकारी तर्फबाट ट्राफिक प्रहरी, यातायातका लागि सडक सङ्केतहरु र चालकका विभिन्न आचार संहिता समेत निर्माण गरिएका हुन्छन् । तिनीहरुको पूर्ण पालनाले अवश्य पनि दुर्घटनाहरु कम हुन्छन् होला । के प्रहरीको आग्रह, सडक सङ्केतहरुको निर्देशन र यातायातमा अपनाउनु पर्ने आचार संहिता पालना नगर्नाले मात्रै यी दुर्घटनाहरु हुन्छन् ? यो प्रश्न यात्रु स्वय्म, गाडिधनि र अन्य सरोकारवालाहरुले ग्रहण गर्नै पर्ने हुन्छ । जबसम्म हामी सबै दुर्घटनाका कारण, परिणाम र आफ्नो कर्तव्यप्रति गम्भीर भएर त्यसको कार्यान्वयनमा लाग्दैनौ तबसम्म यस्ता दुर्घटनाहरु दोहोरिनै रहने छन् ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाहरु ह्वात्तै बढेको छ । दुर्घटनाहरुको प्रकृति र प्रवृत्तिलाई हेरेर प्रहरीले अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरी विद्यालय स्तरदेखि सडकमा समेत कार्यक्रम सञ्चालन गर्नु पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !