शैल्यशिखर मालिकार्जुन पुजन जात्रा भोली,मालिकार्जुन मन्दिरमा १० गते रात्री जात्रा लाग्दै

0
152

दार्चुला,मंसिर ०८ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा अवस्थित राष्ट्रिय धाम शैल्यशिखर धुरामा मंसिर ९ गते पुजन जात्रा र १० गते मालिकार्जुन मन्दिरमा रात्रि जात्रा लाग्ने भएको छ । मंसिर ९ गते त्रियोदशी तिथिमा शिखर धुरामा लाग्ने दिवाकालिन पुजन जात्रा र १० गते चतुर्दशी तिथिमा मालिकार्जुन मन्दिरमा लाग्ने जात्राको आवश्यक तयारी गरिएको मालिकार्जुन विकास समितिले जनाएको छ ।
जात्रा व्यवस्थापनका लागि शान्ति सुरक्षा,मन्दिरमा बिद्युत जडान, खानेपानीको व्यवस्थापन ,हेल्थ डेस्क स्थापना लगायतका व्यवस्थापकीय कार्यहरु गरिएको मालिकार्जुन विकास समितिका सचिव जनक सिंह धामीले जानकारी दिनु भयो। दार्चुलाको मुख्य पर्यटकीय गन्तब्यको रुपमा रहेको मालिकार्जुन धामको प्रचारप्रसार, संरक्षण सम्बर्द्धन गरि यस क्षेत्रको गरिमा बढाउनमा भूमिका निर्वाह गर्न सबै श्रद्धालु भक्तजन र सरोकारवालाहरुलाई मालिकार्जुन गाउँपालिकाले अनुरोध गरेको छ ।
यसैबिच मालिकार्जुन विकास समिति, मालिकार्जुन–३, द्वारा प्रकाशित राष्ट्रिय धाम श्री शैल्य मल्लिकार्जुन मन्दिरको तस्वीर लोकार्पण कार्यक्रम समेत शुक्रबार सम्पन्न भएको छ । जात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थामा ध्यान दिन सुरक्षाकर्मीहरुमा अनुरोध गरिएको छ । मंसिर १० गते आइतबार चतुरदर्शीका दिन लाग्ने जात्रालाई सभ्यभब्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थाको अवस्थालाई मध्यजनर गर्दै जिल्लाभरी रहेका ६ जना इन्पेक्टरको टोली मालिकार्जुन जाने भएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार इलाका प्रहरी कार्यालय लटिनाथमा कार्यरत रहेका इन्सपेक्टर दर्शन खड्का,इलाका प्रहरी कार्यालय लालीमा कार्यरत रहेका डम्मर दत्तभट्ट, र जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत रहेका मदन सिह धामीको टोली मालिकार्जुन जात्रामा खटाइने तयारी भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत गोबिन्द भण्डारी,ज्ञानेन्द्र बहादुर सिंह र इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत रहेका मान सिह ऐरी गरी ६ जना इन्सपेक्टरको टोली मालिकार्जुन जात्रामा खटिने भएको छ । जात्रामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबाट डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरी समेत खटिने भएको छ ।