व्यासमा शिक्षा सुधारका लागि छलफल

0
737
फाइल फोटो

दार्चुला, जेठ १४ गते । 

व्यास गाउँपालिकाको समग्र शिक्षा सुधारका लागि छलफल गरिएको छ । गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको बैठकको आयोजना गरि शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न छलफल गरिएको व्यास गाउँपालिका शिक्षा शाखा प्रमुख चक्र देब जोशीले जानकारी दिनुभयो ।

आज बसेको नवनिर्वाचित जनप्रतिनिधि सहित प्रधानाध्यापक र कर्मचारीहरुको बैठकले स्थानीय तह पाठ्यक्रम १–३ को कार्यान्वयन, तथा पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन लगायतका विषयमा छलफल गरिएको छ । त्यसैगरि शिक्षण सिकाई समय मापन कार्यविधि, विद्यालयमा विभिन्न शीर्षकमा निकासा भएको रकम र खर्च प्रक्रिया, विद्यालयमा हुने मूल्याङ्कन प्रक्रिया, कार्यसम्पादन करार सम्झौता र विद्यालयको पठनपाठनको विद्यमान अवस्थामा विषयमा छलफल गरिएको शिक्षा शाखा प्रमुख जोशीले बताउनुभयो ।
कार्यक्रममा स्थानीय पाठ्यक्रम सम्बन्धि सुझाव दिदै व्यास गाउँपालिका वडा नम्बर ४ मा रहेको सम्पाल मावि सुन्सेराका प्रधानाध्यापक बलदेब सिह धामीले व्यास गाउँपालिका राष्ट्रमै बेग्लै पहिचान बोकेको स्थानीय तह भएकाले यहाँको पाठ्क्रम स्थानीय प्रकृति र माटो सुहाउदो हुनुपर्ने उहाँले बताउनुभयो ।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको विषयबस्तुका साथै यहाँको संसकृती, धार्मीक परम्परा लगायतका विषयबस्तु समेटिनुपर्ने उहाँको सुझाव छ ।
त्यसैगरी कार्यक्रममा सुझाव दिदै सम्पाल मावि सुन्सेराका शिक्षक पदमराज भट्टले शिक्षक सहजकर्ताहरु बिचको विभेद मेटाइनुपर्ने तथा व्यासमा खेताला शिक्षक नियुक्ति खारेजी गरिनुपर्ने उहाँको भनाई छ ।
देशैभर खेताला शिक्षक हटाउने गरिएकोमा व्यासमा खेताला शिक्षक राख्ने प्रबृती रहेको विषय बैठकमा जोडका साथ उठेको थियो । त्यस विषयमा गाउँपालिकाले तत्काल एक्सन लिने गाउँपालिका अध्यक्ष मंगल सिह धामीले बताउनुभयो । खेताला शिक्षक राख्नेहरुको आउदो महिनाबाट तलभ निकासा रोक्ने उहाँको भनाई छ ।
कार्यक्रममा सुझाव राख्दै पञ्चदेवा आधारभुत विद्यालयका प्रधानाध्यापक प्रमानन्द भट्टले सरकारी विद्यालय सुधारका लागि सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी गाउँकै सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने बताउनुभयो । 

व्यासमा दुई बर्षे बालविकास

व्यास गाउँपालिकामा दुई बर्षे बालविकास तह बनाउनका लागि अध्ययन गरिनेभएको छ । आज बसेको शिक्षा शाखाको बैठकमा गाउँपालिका जनप्रतिनिधी तथा प्रधानाध्यापकहरुको संयुक्त बैठकले बालविकास तह दुईबर्षे बनाउनका लागि अध्ययन कार्यदल गठन गरिएको छ । बालबालिकाको आधार बलियो बनाउनका लागि बालबिकास दुईबर्षे बनाउन गरिएको प्रस्तताव कार्यान्वयनका लागि सम्पाल मावि सुन्सेराका शिक्षक पदमराज भट्ट संयोजक रहनेगरि ५ सदस्यिय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले बताउनुभयो । अध्ययन कार्यदलले दिएको प्रतिवेदनका आधारमा दुई बर्षे बालविकास तह निर्धारण गरिने उहाँले बताउनुभएको छ । 

एकबर्षे कार्यसम्पादनमा करार सम्झौता

व्यास गाउँपालिमा रहेका विद्यालयहरुका शैक्षिक गतिविधि सुधारका लागि एकबर्षे कार्यसम्पादनमा करार सम्झौता गरिएको छ । गाउँपालिका अन्र्तगत सञ्चालित विद्यालयलाई उपयुक्त शैक्षिक गन्तब्यको रुपमा रुपान्तरण गर्नका लागि विभिन्न २४ बुदामा करार सम्झौता गरिएको व्यास गाउँपालिका शिक्षा शाखा संयोजक चक्रदेब जोशीले जानकारी दिनुभयो । करार सम्झौतामा बार्षिक कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्ने, सार्वजनिक विदाका दिन बाहेक विद्यालय बन्द नगर्ने, शुक्रबार अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने लगायतका विषयमा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले प्रविबद्धता सहित कार्यसम्पादन करार सम्झौतामा हस्तार गरेका छन् ।