व्यास गाउँपालिकामा माध्यमिक शिक्षा पूर्ण निःशुल्क, घरेलु मदिरा प्रतिबन्ध

0
666

दार्चुला, जेठ १४ गते । 

व्यास गाउँपालिकामा माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरिएको छ । आज बसेको व्यास गाउँकार्यपालिकाको बैठकले माध्यमिक तह सम्मको शिक्षालाई पूर्ण रुपमा निःशुल्क गर्ने निर्णय गरेको व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडुले जानकारी दिनुभयो ।

गाउँपालिकामा सञ्चालनमा रहेका कक्षा ११, १२ मा शुल्क लिने गरिएकोमा व्यासमा नयाँ सरकार आएपछि निःशुल्क गर्ने निर्णय गरिएको हो । नेपालको संविधानले परिकल्पना गरेको माध्यमिक तह सम्मको शिक्षा निःशुल्क सम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले बताउनुभयो । शिक्षा नै विकासको मूल आधार भएकाले आर्थिक अभावका कारण माध्यमिक शिक्षा लिनबाट वञ्चित कोही पनि हुनु नपरोस् भन्ने उद्देश्यका साथ गाउँकार्यपालिकाको बैठकबाट यो निर्णय गरिएको अध्यक्ष धामीले बताउनुभयो । त्यसैगरी आजै बसेको बैठकले व्यास गाउँपालिकामा घरेलु मदिरा ओसारपसार तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । घरेलु मदिराका कारण समाजमा विभिन्न किसिमका विकृतिहरू बढिरहेकाले अवैध घरेलु मदिरालाई प्रतिबन्ध लगाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बडुले बताउनुभयो ।