व्यासक्षेत्रको महाकाली संगममा शिवलिङ्ग भेट्टियो

0
1084

दार्चुला, भदौ ३ गते ।
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ स्थित व्यासऋषि मन्दिर छेउको महाकाली संगममा शिवलिङ्ग भेट्टिएको छ । व्यासको छाङ्गरु गाउँ निवासी ४८ वर्षिय गोपाल सिंह बोहराले साउन ३२ गते विहान शिवलिङ्ग भेट्टाएका हुन् ।
बोहरा गत जेठ १३ गतेदेखि व्यास ऋषि मन्दिरमा साधनारत छन् । मन्दिर परिसरमा लगातार साधनारत बोहराले विहिवार विहान साढे ७ बजे शिवलिङ्ग भेट्टाएका हुन् । नेपाल र भारतको सिमा जोडिएको सितापुल छेउमा रहेको व्यासऋषि मन्दिरमा बोहरा एक्लै दुइ महिनादेखि साधनारत छन् ।
विहिवार विहान महाकाली र तिंकर नदीको संगममा स्नान गर्नेक्रममा शिवलिङ्ग भेट्टाएको उहाँले बताउनुभयो । ‘नदी संगममा रहेको एउटा ठूलो ढुंगामा उभिदा ढुंगा हल्लिएको र त्यसको मुनितिर हेर्दा शिवलिङ्ग फेला परेको’ उहाँले बताउनुभयो ।
‘मेरो लागि जीवनकै ठूलो सौभाग्य र उपलब्धिको विषय भयो’ उहाँले भन्नुभयो । व्यासऋषिको तपस्यास्थलमा शिवलिङ्ग भेटिनुले आस्थावान सबैलाई खुशी र प्रेरित बनाएको छ । शिवलिङ्ग भेटिएकै दिन छाङ्गरु गाउँका स्थानीय वासिन्दाले सामूहिक रुपमा पूजापाठ गरी शिवलिङ्गलाई मन्दिरमा स्थापना गरेका छन् ।
व्यासऋषि मन्दिरको पूर्वमा कैलाशको प्रतिक गाङ्गरी ह्या (मन्दिर) रहेको छ । व्यासका स्थानीय वासिन्दाले उक्त मन्दिरमा कैलाशवासी भगवान शिवको पूजापाठ गर्ने गर्दछन् । नदी संगममा भेट्टिएको शिवलिङ्ग कैलाश मन्दिरमा राखेर नियमित पूजापाठ गर्न थालिएको साधक गोपाल सिंह बोहराले बताउनुभयो । वैदिक परम्पराअनुसार पञ्चोपचार र षोडषोपचार विधिले शिवलिङ्गको पूजा गरिएको उहाँले बताउनुभयो ।
भेट्टिएको शिवलिङ्गको लम्बाई एक फुट छ भने ४ इन्चको गोलाइ छ । प्राकृतिक रुपमा शिवलिङ्ग भेट्टिनुले व्यासक्षेत्रको पवित्रता र महत्व उजागर हुने व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराको भनाई छ । ‘पवित्र भूमिमा रहेको व्यासऋषि मन्दिरमा तपस्या गर्दैआएका गोपाल दाईलाई दैविय कृपा भएर शिवलिङ्ग प्राप्ति भएको छ, व्यासका वासिन्दा धेरै खुशी र उत्साही भएका छौ’ उहाँले भन्नुभयो ।
शिवलिङ्गमा दैनिक पूजापाठ गरिदैआएको छ । जल, दुध, दहीले शिवलिङ्गको अभिशेक गरिएको साधक गोपाल सिंह बोहराले बताउनुभयो । ‘गाङ्गरी ह्या (कैलाश) मन्दिरमा रुद्राभिशेक गर्नका लागि शिवलिङ्गको आवश्यकताबोध भइरहेको थियो, मेरो अन्तस्करणले भगवानसंग शिवलिङ्ग मागिरहेको थियो, भगवानको कृपाले शिवलिङ्ग प्राप्ति भएको छ’ बोहराले भन्नुभयो ।
व्यासऋषि मन्दिरको पश्चिमतर्फको एक सय मिटर दूरीमा महाकाली र टिंकर नदीको संगम छ । यो संगममा व्यास ऋषिले नित्य स्नान गर्ने गरेको मान्यता छ भने कैलाश–मानसरोवर यात्रा गर्ने सन्त, महात्माहरुले पनि यो संगममा स्नान गर्ने गर्दछन् ।
व्यासऋषि मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्छ । यसलाई व्यासऋषि मेला भनिन्छ । यो वर्ष भदौ १४ गते व्यासऋषि मेला हुँदैछ । व्यास ऋषिमेलामा स्थानीय शौका समुदायले व्यास ऋषि र भगवान शिवको पूजापाठ गर्ने गर्दछन् ।
पूर्णिमाको एक दिनअघि चतुर्दशीको साँझदेखि नै व्यासऋषि मन्दिरमा जाग्राम बस्ने परम्परा छ । चतुर्दशीको रातभर भजन–कीर्तन र जागरण गरी भोलिपल्ट दिनभर पूजापाठ गर्ने चलन रहेको व्यासका स्थानीय नरेन्द्र सिंह बोहराले बताउनुभयो ।
पूर्णिमाको विहान गाउँभरीका सबै देवीदेवताका पूजारी र धामी (पतरे)ले नदीको संगममा स्नान गर्ने गर्दछन् । व्यास ऋषि परिसरमा दर्चे (ध्वजा) ठड्याउने र सामूहिक रुपमा पूजापाठ गर्ने गरिन्छ । स्थानीय परम्पराअनुसार बाजागाजासहित नाचगान पनि गरिन्छ । व्यासऋषि मेलामा दिनभरी पूजापाठ, नाचगान र प्रसाद वितरण हुन्छ । मेलाका सबै सहभागीलाई खाना र प्रसाद वितरण गरिन्छ ।
गत जेठ १३ देखि लगातार व्याषऋषि मन्दिरमा स्थानीय गोपाल सिंह बोहराले एक्लै साधना गर्दैआएका छन् । उनलाई छाङ्गरुका स्थानीय र आफन्तजनले राशन र पूजा सामग्री उपलब्ध गराउदै आएका छन् । दिनरात २४सैं घण्टा अखण्ड रुपमा साधना गरिरहेका गोपालबाट स्थानीय वासिन्दा खुशी र प्रभावित भएका छन् । गत साउन १६ गते पूर्णिमाको दिन गाउभरीका स्थानीयलाई समेत सहभागी गराएर गोपालले व्यासऋषि मन्दिरमा पूजापाठ गरेका थिए ।
सामूहिक कल्याणको कामना गर्दै पूजापाठ गरिएको उहाँले बताउनुभयो । ‘मेरो व्यक्तिगत चाहना केही छैन, प्रकृतिको संरक्षण र मानव जातीको कल्याण गर्दै साधना गरिरहेको छुँ, भगवानले मेरो आधारभूत आवश्यकता पूरा गरेकै छन्, थप व्यक्तिगत कामना केही छैन’ उहाँले भन्नुभयो ।
आफ्नो जन्मभूमिमा पुग्दा व्यासऋषि मन्दिरमै लगातार बसेर साधना गर्ने प्रेरणा जागेकोले २४ घण्टा मन्दिर परिसरमै बसेर आफुले साधना गरिरहेको उहाँको भनाई छ । जेठ १३ गतेदेखि निरन्तर मन्दिरमा बस्दैआएका गोपाल छाङ्गरु गाउँमा गएकै छैनन् । भदौं महिनाभरी व्यासऋषि मन्दिरमै बसेर साधना गर्ने उहाँले बताउनुभयो ।
विगत १२ वर्षदेखि रामानन्द परम्पराअन्तर्गतका गुरुबाट दीक्षा लिएका गोपालले भगवान राम र हनुमानको साधना गरिरहेका छन् । मन्त्र जप, हवन, पूजापाठ लगायतका कार्यहरु दैनिक रुपमा गरिरहेको उहाँले बताउनुभयो । स्थानीय र आफन्तजनले मन्दिरमै खाद्यान्न सामग्री पुगाइ दिने गरेको र दैनिक रुपमा आफैले खाना पकाउने गरेको उहाँले बताउनुभयो ।
सुरुका नौ दिनसम्म रामायण पाठ र त्यसपछि ४० दिनसम्म हनुमान साधना गरेको साधक गोपाल सिंह बोहराले बताउनुभयो । सधैभरी साधना र आध्यात्मिक चिन्तन गरिरहने गोपालको बानीव्यवहारबाट व्यासका गाउँले खुशी भएका छन् । ‘यो स्तरको साधना र चिन्तन गर्ने पात्र अहिलेसम्म कोही थिएन, व्यासकै भूमिमा जन्मिएर यसप्रकारको साधना र निरन्तर पूजापाठ गर्ने कार्यले सबैलाई प्रेरणा दिएको छ’ व्यासको छाङ्गरुका स्थानीय योगेश सिंह बोहराले भन्नुभयो ।
साधक गोपालले भने आफ्नो प्रचारप्रसार र प्रशंसा नगर्न आग्रह गरेका छन् । ‘आफुलाई ठूलो देखाउने र आफ्नो प्रशंसा खोज्ने मेरो आवश्यकता छैन’ उहाँले भन्नुभयो, ‘मेरो प्रचार र प्रशंसा गर्नुभन्दा पनि आध्यात्मिक चिन्तन गर्नुहोस्, दैविय शक्तिको कृपा अनुभूति गर्नुहोस् ।’
यो स्तरमा साधना गर्ने पात्र विरलै भेटिने गरेका छन् । ‘शिवलिङ्गको प्राप्ति हुनु ठूलो महत्वको कुरा हो, यसबारे जानकारी सार्वजनिक गराउनु आवश्यक ठानेर नै हामी सक्रिय भएका छौं’ वडाअध्यक्ष अशोक सिंह बोहराले भन्नुभयो ।