व्यासको पैदल बाटो तीन महिनाभित्र सञ्चालन गरिने

0
464

दार्चुला,साउन १८ गते ।
नेपाल, भारत र चीनको त्रिदेशीय सिमाक्षेत्र जोड्ने पैदल बाटो तीन महिनाभित्र सञ्चालन गरिने भएको छ । व्यास गाउँपालिकाका जनप्रतिनिधिहरु र बाटो निर्माण गराइरहेको स्थानीय पूर्वाधार विभागका प्राविधिकले पैदलबाटो तत्काल सञ्चालन गरिने बताएका छन् । व्यासको पैदल बाटो निर्माणमा करोडौं बजेट खर्च गरिएको भए पनि बाटो सञ्चालन नभएको भन्दै आलोचना भएपछि व्यास गाउँपालिकाका जनप्रतिनिधिहरुले बाटो सञ्चालनमा ल्याउने बताएका हुन् । ‘असोज–कार्तिक भित्रै बाटो पूर्ण रुपमा सञ्चालनमा ल्याउछौं’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो । धेरैजसो ठाउँमा बाटो निर्माणको काम भइसकेको र आवश्यक ठाउँमा थप काम गराएर बाटो सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष धामीको भनाई छ । स्थानीय पूर्वाधार विभागसंग समन्वय गरेर चाँडो पैदलमार्ग सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।
दार्चुलाको व्यासक्षेत्र जोड्ने बाटो निर्माणमा अहिलेसम्म ५ करोडभन्दा बढी बजेट खर्च भएको तर बाटो सञ्चालनको सुरुवाती भएको ६ वर्षसम्म पनि बाटो बनेको छैन । गत आर्थिक वर्ष २०७९/८० मा व्यास गाउँपालिकाले दुम्लिङदेखि छाङरु हुँदै तिंकरसम्मको पैदल बाटो निर्माणमा १ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ । ठेक्का प्रक्रियामार्फत गराइएको बाटो निर्माण कार्यमा कल्जुखोला, अपिखोला र तिंकरखोलामा गरी ३ वटा काठेपुलहरु समेत निर्माण गरिएका छन् ।
गत आर्थिक वर्षमा समय अभावका कारण आवश्यकता अनुसारका स्थानमा बाटो निर्माणको कार्य गराउन नसकिएको व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले बताउनुभयो । ‘बाटो निर्माणका लागि यो वर्ष हामीसंग कुनै बजेट छैन, तर स्थानीय पूर्वाधार विभागको ठेक्का चालू रहेकाले आवश्यक समन्वय गरी बाटो सञ्चालनमा ल्याउछौं’ उहाँले भन्नुभयो ।
व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङदेखि वडा नम्बर १ को छाङरु, गागासम्मको ३० दशमलव ५ किलोमिटर लामो पैदल निर्माणका लागि तिन वर्षअघिदेखि स्थानीय पूर्वाधार विभागले ठेक्का प्रक्रियामार्फत काम गराउदै आएको छ । गत असारसम्म बाटो निर्माणको ८५ प्रतिशत भौतिक कार्य सम्पन्न भएको स्थानीय पूर्वाधार विभागका इन्जिनियर किशोर विष्टले बताउनुभयो । बाटो निर्माण कार्यअन्तर्गत ४९ घनमिटर मेसिनरी पर्खाल, २ सय ३६ घनमिटर ढुंगाको सुख्खा पर्खाल, ५ सय ५४ घनमिटर ग्यावियन तारजाली निर्माण र ४५ सय घनमिटर माटो खन्ने कार्य गर्नुपर्ने थियो । साथै, कल्जुखोला र बुँदीखोलामा झोलुंगे पुल तथा अपिखोला र सगनाडीमा ट्रसपुल निर्माण गर्ने लक्ष्य रहेकोमा अपिखोलाबाहेक अन्य तीन ठाउँमा पुल निर्माण सम्पन्न गरिएका छन् ।
तम्बाकु, घाटिबगड, दोपाखे, बुँदी र अपिखोला लगायतका क्षेत्रमा बाटो निर्माण चुनौतीपूर्ण रहे पनि अधिकांश ठाउँमा पैदल हिड्न सकिने गरी बाटो निर्माण गरिएको विभागका इन्जिनियर विष्टको भनाई छ । आवश्यकताअनुसार थप स्थानमा पनि बाटो निर्माणको काम गराइने उहाँले बताउनुभयो । गत असारसम्ममा बाटो निर्माणमा संलग्न ठेकेदारलाई २ करोड ५४ लाख ४४ हजार ४ सय ६० रुपैयाँ भुक्तानी भएको विभागले जनाएको छ । चालु वर्षमा व्यास बाटो निर्माणको शीर्षकमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट बाटो निर्माणको बाँकी कार्य सम्पन्न गराइने विभागका इन्जिनियर विष्टले जानकारी दिनुभयो ।
गाउँपालिका र सरोकारवालाहरुसंग समन्वय गरेर अत्यावश्यक ठाँउमा थप काम समेत गराइने इन्जिनियर विष्टको भनाई छ । ‘एक÷दुई महिनाभित्रै व्यासको पैदलबाटो पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम गराउछौं’ उहाँले भन्नुभयो । बाटो भिरालो र अप्ठेरो भएको ठाउँमा वैकल्पिक बाटो समेत निर्माण गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार तम्बाकुदेखि थिई हुँदै घाटिबगड जोड्ने वैकल्पिक बाटो समेत निर्माण गरिएको छ ।
तत्काल मानिस र बाटोको थप मर्मत सुधार गरेपछि भरिया र गाइवस्तुको समेत सहज ओहोरदोहोर हुने गरी बाटो निर्माणको कार्य गराइएको विभागले जनाएको छ । भौगोलिक विकटता र जटिल भूगोलका कारण केही समय ढिला भए पनि व्यासको बाटो सञ्चालनमा ल्याइने विभागका इन्जिनियर विष्टले बताउनुभयो । व्यासको पैदल बाटो सञ्चालनमा ल्याउन पछिल्लो समय २०७४ सालदेखि प्रयास हुँदैआएको छ । आर्थिक वर्ष २०७४/७५ मा २५ लाख रुपैयाँ बजेट छुट्याउदै व्यास गाउँपालिकाले व्यासको बाटो सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको थियो ।
२०७७ जेठमा चुच्चे नक्सा आएसंगै व्यासको पैदल बाटो निर्माणमा नेपाली सेना पनि परिचालन गरियो । व्यास गाउँपालिकाको वडा नम्बर २ को घाटिबगड–तम्बाकु क्षेत्रमा ४ महिनासम्म नेपाली सेनाले चट्टान फुटाएर बाटो खोल्ने काम गर्यो । मौराभीरमा ५ सय ५० मिटर भिरालो र कडा चट्टान फुटाएर सेनाको टोली फर्कियो । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टलाई हेलिकोप्टरमार्फत बाटो निर्माणस्थलमा पुर्याएर बाटो हस्तान्तरण समेत गर्यो । लगत्तै सुदूरपश्चिम प्रदेश सरकारले व्यासको बाटो सञ्चालनमा ल्याउन व्यास गाउँपालिकालाई ३० लाख बजेट दियो । उक्त बजेट खर्च भए पनि बाटो सञ्चालनमा आएन ।
२०७७ पुष १० गते दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना मन्त्री भएपछि आफ्नो मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभागमार्फत व्यासको पैदल बाटो निर्माण/मर्मतका लागि तत्काल ५ करोड बजेट छुट्याउनुभयो । फास्टट्रयाकमार्फत उक्त बजेट कार्यान्वयनको पहल पनि भयो । २०७७ चैत्र महिनामा बाटो निर्माणको ठेक्का सम्झौता गरियो । १३ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी दुम्लिङदेखि छाङरुको गागासम्मको ३०.५ किलोमिटर लामो घोरेटो बाटो निर्माणको ठेक्का सम्झौता भएको थियो ।
व्यासको बाटो निर्माणकै लागि गत आर्थिक वर्षमा नेपाल सरकारले व्यास गाउँपालिकालाई विशेष अनुदानअन्तर्गत ३ करोड बजेट उपलब्ध गराएको थियो । ठेक्का प्रक्रियामा ढिलाइ हुँदा गत जेठ–असार महिनामा मात्र गाउँपालिकाको उक्त बजेटले बाटो निर्माणको कार्य गरिएको छ । गाउँपालिकाले बाटो निर्माणमा ३ करोड बजेटमध्ये १ करोड ८७ लाख रुपैयाँ खर्च गरेको छ ।