टिंकर सडकमा सेनालाई १४ करोड बजेट, ३ किलोमिटर सडक बनाइने

0
402

दार्चुला,साउन २० गते ।
त्रिदेशीय सिमाक्षेत्र जोड्ने दार्चुला–टिंकर सडक निर्माणका लागि सरकारले नेपाली सेनालाई १४ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा प्राप्त बजेटबाट ३ किलोमिटर सडक निर्माण गरिने सेनाले जनाएको छ । गतवर्ष ९ करोड ३० लाख ३० हजार रुपैयाँ टिंकर सडक निर्माणका लागि सेनालाई दिइएको थियो । गतवर्षभन्दा यो वर्ष केही बजेट बढाइए पनि त्रिदेशीय सिमाक्षेत्रको सडक निर्माणलाई सरकारले उपेक्षा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने टिंकर सडकमा २२ करोड ५० लाख बजेट दिइएको थियो । केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको थियो ।
चालु वर्षका लागि टिंकर सडकका लागि १४ करोड १९ लाख २० हजार रुपैयाँ बजेट उपलब्ध भएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यो बजेटबाट आर्थिक वर्ष २०८०/८१ मा ३ किलोमिटर नयाँ सडक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गरिने सेनाको लक्ष्य छ । हाल व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ को माल, दुम्लिङ र कल्जुसम्मको क्षेत्रमा सडक निर्माण भइरहेको छ । यो वर्षको बजेटले बढीमा कल्जु र तम्बाकु क्षेत्रसम्मको सडक निर्माण गरिने भएको छ ।
गतवर्षको साढे ९ करोड बजेटबाट सेनाले २ किलोमिटर नयाँ सडक र डेढ किलोमिटर ट्रयाकको स्तरोन्नती गर्ने कार्य भएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सेनाले गतवर्ष ९ करोड १४ लाख १९ हजार बजेट सडक निर्माणमा खर्च गरेको छ । गत वर्ष व्यास गाउँपालिकाको वडा नम्बर २ थिइ इलाकामा सेनाको क्याम्प पनि स्थापना गरिएको छ । गत असारसम्ममा सेनाले कुल १० दशमलव ४ किलोमिटर सडक निर्माण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । महाकाली कोरिडोर अन्तर्गतको तुषारपानी–टिंकर सडक खण्डको निर्माण नेपाली सेनामार्फत भइरहेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर भञ्ज्याङसम्म निर्माण भइरहेको महाकाली कोरिडोरको लम्बाइ ४ सय १३ किलोमिटर रहेको छ । यसमध्ये नेपाली सेनाले निर्माण गरिरहेको तुषारपानी–टिंकर सडक खण्डको लम्बाइ ७९ किलोमिटर छ । सेनाले आफ्नो जिम्मेवारी मध्येको साढे १० किलोमिटर लामो सडक निर्माण पूरा गरेको छ ।
ठेक्का प्रक्रियाबाट टिंकर सडक निर्माणमा ढिलाइ भएपछि नेपाल सरकारले २०७७ वैशाखमा नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो । सेनाले आर्थिक वर्ष २०७७/७८ मा व्यास गाउँपालिका केन्द्र सुन्सेरा र वडा नम्बर २ को दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । सो वर्ष सेनाले परामर्शदातामार्फत सडक निर्माणको डिपिआर पनि संसोधन गराएको थियो । आर्थिक वर्ष २०७८/७९ बाट सेनाले सडक निर्माणको कार्य थालेको हो । सडक निर्माण कार्य सुरु भएको पहिलो वर्ष सरकारले २२ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । यो बजेटमध्ये सडक निर्माण कार्यमा २० करोड ५९ लाख ७१ हजार रुपैयाँ खर्च भएको सेनाले जनाएको छ ।
नेपाली सेनाको तयार गरेको संसोधित डिपिआर अनुसार तुषारपानी–टिंकर सडक खण्डको ट्रयाक निर्माणका लागि ३ अर्ब ५० करोड खर्च हुनेछ । सेनाले टिंकरसम्म ट्रयाक निर्माण गर्न १० वर्षको समय लाग्ने पनि बताएको छ । आर्थिक वर्ष २०८८/८९ भित्र सडकको ट्रयाक निर्माण सम्पन्न गर्ने सेनाको लक्ष्य छ । तर यसका लागि ‘माग अनुसारको बजेट विनियोजन हुनुपर्ने’ सेनाको शर्त छ ।