महाकाली कोरिडोरमा वर्षेनि आधा बजेट घटाइदै

0
254

दार्चुला ।
सुदूरपश्चिमका चार जिल्लाको भूगोलसहित त्रिदेशीय सिमाक्षेत्र जोड्ने महाकाली कोरिडोरमा वर्षेनि आधा बजेट घटिरहेको छ । भारत र चीनको सिमा जोडिने गरी निर्माण भइरहेको सडक निर्माण कार्य समेत बजेट अभावले प्रभावित बनेको छ ।
पछिल्ला तीन वर्षको बजेट विनियोजन हेर्दा अघिल्लो वर्षको भन्दा आधा बजेट विनियोजन गर्ने अभ्यासले निरन्तरता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा महाकाली कोरिडोरमा अहिलेसम्मकै सर्वाधिक ८२ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये सबैजसो बजेट महाकाली कोरिडोर सडक आयोजनाले खर्च गरेको अभिलेख छ ।
आर्थिक वर्ष २०७८/७९ को भन्दा गत आर्थिक वर्ष २०७९/८० मा झण्डै आधा बजेट महाकाली कोरिडोरमा विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा ४४ करोड ११ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्षको अन्तिम समयमा १४ करोड ३५ लाख रुपैयाँ थप निकासा भएपछि सडक निर्माणमा संलग्न ठेकेदारलाई रकम भुक्तानी गर्न सहज भएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । गत आर्थिक वर्षमा यस सडक खण्डमा कुल ५४ करोड ३५ लाख ९९ हजार ४ सय ३५ रुपैयाँ पूजीगत बजेट खर्च भएको छ ।
चालु आर्थिक वर्षमा गतवर्षको भन्दा झण्डै आधा बजेट सरकारले विनियोजन गरेको छ । यो वर्ष २९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजना प्रमुख जोशीले बताउनुभयो । यो विनियोजित रकम आर्थिक वर्ष २०७८/७९ को तुलनामा दुइतिहाइले कम हो भने आर्थिक वर्ष २०७९/८० को तुलनामा आधा मात्र हो ।
संघीय सरकारले महाकाली कोरिडोरको सडक निर्माणमा बजेट बढाउनुपर्नेमा उल्टो अभ्यास गर्दैआएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुन्सेरासम्मको ३ सय ३४ लामो सडक खण्डमध्ये १ सय ४ किलोमिटर सडकको ट्रयाक निर्माण गर्न बाँकी छ । गत आर्थिक वर्षमा २७ किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको छ भने अघिल्लो वर्ष २६ दशमलव ५ किलोमिटर सडकको ट्रयाक निर्माण भएको आयोजनाले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको बजेटमध्ये वन विकाश कोषमा मात्रै ३७ करोड रुपैयाँ राखिएको छ । सडक निर्माण हुने क्षेत्रमा पर्ने वनक्षेत्रको क्षतिपूर्तिस्वरुप सडक निर्माणको बजेट कोषमा जम्मा गरिएको महाकाली कोरिडोर सडक आयोजनाले जनाएको छ ।
दार्चुलाको खलंगादेखि दुहुँ गाउँपालिकाको पिपलचौरी खण्ड र महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिकाको जोलजिवि–उकु खण्डमा कालोपत्रेको समेत ठेक्का सम्झौता भइसकेको छ । गत आर्थिक वर्षमा खलंगा–पिपलचौरी सडक खण्डमा व्याक कटिङको कार्य भएको आयोजनाका इन्जिनियर दीपक विष्टले बताउनुभयो ।
कोरिडोरअन्तर्गत ब्रह्मदेवदेखि सुन्सेरासम्मको सम्पूर्ण खण्डमा ट्रयाक निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ । तर सडक निर्माणमा बजेट विनियोजन न्युन हुँदा सडक निर्माणले गति पाउन सकेको छैन । चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट २५ किलोमिटर लामो सडकको ट्रयाक मात्र निर्माण गर्न सकिने आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो ।
झण्डै ३२ किलोमिटर लामो सडक खण्ड कालोपत्रे गर्न मात्रै १ अर्ब ३५ करोड रुपैयाँको ठेक्का सम्झौता गरिएको छ । तर सरकारले न्युन बजेट विनियोजन गर्दा सडक कालोपत्रेको कार्य अघि नबढ्ने निश्चित छ । ‘सडकको स्तरोन्नती गर्नु त टाढाको कुरा भयो, सडकको ट्रयाक नै खोल्न पनि अझै चार–पाँच वर्ष लाग्ने देखियो’ दार्चुला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विशन सिंह बोहराले भन्नुभयो, ‘महाकाली कोरिडोरमा सरकारको यस्तै उपेक्षा जारी रहे आउदो वर्ष १०–१२ करोडमा बजेट सिमित हुने देखिन्छ ।’
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर भञ्ज्याङसम्मको प्रस्तावित ४ सय १३ किलोमिटर लामो सडकमध्ये महाकाली कोरिडोर आयोजना कार्यालयले ब्रह्मदेवदेखि सुन्सेरासम्मको ३ सय ३४ किलोमिटर खण्डमा काम गर्दैआएको छ । सुन्सेराको तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ ।