कालापानीमा एक नेपालीको मृत्यु

0
712

दार्चुला ।
भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली युवाको मृत्यु भएको छ । बाख्रा चराउन गएका १९ वर्षिय विनोद ठगुन्नाको साउन १६ गते मृत्यु भएको हो । ढुंगा लागेर मृत्यु भएको समाचार भारतीय सञ्चार माध्यमले सार्वजनिक गरे पनि मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् ।
मृतक दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ दल्लेखका स्थानीय हुन् । मृतकका बुवा अंगविर सिंह ठगुन्ना र आफन्तजन घटनाको खबर पाएलगत्तै बुधवार विहान घटनास्थलतर्फ गएको छिमेकी मान सिंह मन्यालले बताउनुभयो । घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनैप्रकारको चोटपटक नदेखिएको उहाँले बताउनुभयो । भारतीय सञ्चारमाध्यमले भने उत्तराखण्ड प्रहरीलाई उद्दृत गर्दै ढुंगा लागेर ठगुन्नाको मृत्यु भएको जनाएका छन् । मृतक ठगुन्नाले एक वर्षदेखि एकजना भारतीय व्यवसायीको दुइ सयभन्दा भेडाबाख्राहरु चराउने कार्य गर्दैआएका थिए । कालापानीभन्दा पनि माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तजनले बताएका छन् । अक्सिजनको अभाव भएर लेक लागेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलवार साँझसम्म वासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरुले खोजी गरेका थिए । कालापानीमा रहेका एसएसवी र आइटिविपीका सुरक्षाकर्मीहरुको सहयोगमा उनको खोजी गरिएको थियो । मंगलवार राती २ बजे विनोद मृत भेटिएका थिए ।
उत्तराखण्ड प्रहरीले साउन १७ गते बुधवार घटनास्थलको मुचुल्का गरेको छ र आफन्तजनलाई घटनाबारे जानकारी गराएको छ । नेपाल प्रहरीले भने घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताएको छ । घटना भएको जानकारी सुन्नमा आए पनि विस्तृत विवरण प्राप्त नभएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताउनुभयो । कालापानी नजिकको छाङरु गाउँस्थित सितापुल प्रहरी चौकीका असई प्रकाशवहादुर सिंहले पनि घटनाबारे कुनै जानकारी आफुहरुले नपाएको बताउनुभयो । ‘घटनास्थल कालापानी क्षेत्रमा भएकोले उक्तक्षेत्रमा नेपाली सुरक्षाकर्मीले जानसक्ने अवस्था छैन, भौगोलिक दूरी र सञ्चारको कुनै माध्यम नभएकाले घटनाबारे हामीलाई जानकारी हुन सकेको छैन’ असई सिंहले भन्नुभयो । मृतक विनोदका बुवा अंगवीरले कालापानी क्षेत्रमा धेरै वर्षदेखि बाख्रा चराउने काम गर्दैआएका थिए । अंगवीर विरामी भएपछि एक वर्षदेखि छोरो विनोदले बाख्रा चराउने काम गरिरहेको जानकारी गाउँलेहरुले दिएका छन् । एकजना भारतीय व्यवसायीसंग वार्षिक रुपमा ठेक्का लिएर बाख्रा चराउने काम ठगुन्ना परिवारले गर्दैआएको छिमेकी मान सिंह मन्यालले बताउनुभयो । धारचुलाबाट भारततर्फको सडकमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएका कारण मृतकका आफन्तजनलाई घटनास्थल पुग्न दुइ दिनको समय लाग्नसक्छ । उत्तराखण्ड प्रहरीले शव आफ्नो जिम्मामा राखेको छ । भारतको गुञ्जीमा उत्तराखण्ड प्रहरीको चौकी रहेको छ ।