विद्युत कार्यालयको लापरवाहिले करेन्ट लागेको देखियोः प्रजिअ जोशी

0
794
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला

दार्चुला, चैत्र ०९ गते ।
दुहु गाउँपालिकाको वडा नं ३ राताकाठामा आईतबार एक जना पुरुषको करेन्ट लागेर ज्यान गएको छ । दार्चुला तिंकर  सडक भन्दा अन्दाजी ५० मिटर माथी विद्युतको पोललाई सपोट दिने तार छुदाँ ब्रह्मदेवका वर्ष ६३/६४ का पदम बहादुर बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।


विद्युत पोल नजिक करेन्ट लागेर मृत्यु भएपछि स्थानियहरुले क्षतीपुर्तीको माग गर्दै सोमबार दार्चुला तिंकर सडकमा चल्ने सवारी साधन ठप्प पारेका थिए । दिउसो जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी, प्रहरी प्रमुख मनोहर प्रसाद भट्ट, नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र दार्चुलाका प्रतिनिधी लगायतको टोली घटना स्थलमा पुगेको थियो । घटना स्थलको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारीले विद्युत कार्यालयको लापरवाहिका कारण करेन्ट लागेको देखिएको बताएका छन् ।
कालापानी न्युज डटकम संगको कुराकानीमा प्रजिअ जोशीले विद्यतुका तारहरु छरिएर रहेको रहेको तथा पोलहरुको समेत राम्रो ब्यवस्थापन नभएको पाइएको बताउनुभएको छ । “विद्युत कार्यालयको कमजोरी रहेछ, तारहरु समेत छरेको देखियो, १ हप्ता भित्र विद्युत लाईन ब्यवस्थापन गर्न भनेको छु” उहाँले भन्नुभयो ।
दुहुका जनप्रतिधी, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको सर्वपक्षिय भेलाले स्थानियहरुको माग सम्बोधन गर्ने गरि मृतकको परिवारलाई नियमानुसारको क्षतीपुर्ती दिने निर्णय गरिएको प्रमुख जिल्ल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
“विगतमा पनि सोही क्षेत्रमा करेन्ट लागेर बाख्रा मरेको रहेछ, विद्युतले त्यो समयमा पनि लाइन मर्मत गर्ने सहमती गरेको रहेछ, तर हाल सम्म मर्मत गरिएको रहेनछ उहाँले भन्नुभयो” । विद्युत कार्यालयलाई लाइन मर्मत गर्न निर्देशन दिएको र क्षेत्रीय निर्देश संग समेत कुरा गरेर लाइनहरु मर्मत हुनुपर्ने कुरा राखेको उहाँले बताउनुभयो ।
मृतकको काज किरियाका लागि विद्युत कार्यालयले खर्च दिने तथा मृतकको परिवारलाई क्षतीपुर्ती बाफत ५ लाख दिने वा घरका एक जना सदस्यलाई रोजगार दिने विद्युत कार्यालय र आफन्त संग सहमति भएको उहाँले जानकारी दिनुभयो । सर्वपक्षिय भेलाको समन्वयमा भएको सहमती पछि विवाद समाधान भएको थियो ।  मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको तथा मंगलबार पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दको भनाई छ ।