वार्षिक परीक्षा सुरु तर मावि खलंगामा गणितको पढाई अधुरो

0
349

दार्चुला, चैत्र ७ गते ।
दार्चुला सदरमुकामस्थित महेन्द्र मावि खलंगामा वार्षिक परीक्षा मंगलवारबाट सुरु भएको छ । तर कक्षा ७, ८ र ९ को गणित विषयको पढाई अधुरो रहेको तथ्य खुलेको छ । अधुरो पढाईकै आधारमा विद्यार्थीहरुले वार्षिक परीक्षा दिने भएका छन् ।
कक्षा ९ को एफ सेक्सनमा अनिवार्य गणित विषयका ७ वटा युनिटमध्ये ३ युनिटको मात्रै पठनपाठन भएको विद्यार्थीहरु बताउँछन् । पाठ्यपुस्तकमा रहेका ७ युनिटमध्ये सुरुका ३ युनिटको मात्रै कक्षामा पढाइ भएको एफ सेक्सनका एक विद्यार्थीले बताए । उनका अनुसार सेट, अंकगणित र क्षेत्रमितिका युनिटहरुको पढाइ गरिएको छ ।
पाठ्यपुस्तकमा रहेका बीजगणित, रेखागणित, तथ्यांक र सम्भाव्यता तथा त्रिकोणमितिका इकाइहरुको पठनपाठन भएको छैन । ५७ जना विद्यार्थी रहेको उक्त सेक्सनका विद्यार्थीले पढाइ पूरा हुन नसकेको विषय विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।
फागुन २७ गते आयोजित विद्यालयको सामाजिक परीक्षण कार्यक्रममा पनि पठनपाठन पूरा नभएको विषयमा प्रश्न उठेको थियो । शैक्षिकसत्रको सुरुमा कोभिडका कारण ढिलोगरी पढाइ सञ्चालन भएको तथा निर्वाचनलगायतका विभिन्न कारणले कोर्ष पूरा हुन नसकिएको जानकारी सामाजिक परीक्षण कार्यक्रममा दिइएको थियो । निर्धारित कोर्ष पूरा गरेर वार्षिक परीक्षा सञ्चालन गरिने जानकारी विद्यालय प्रशासनले सामाजिक परीक्षण कार्यक्रममा दिएको महाकाली नगरपालिकाका विद्यालय निरीक्षक हेमराज जोशीले बताउनुभयो ।
प्राविधिक कारणले कक्षा ९ को एफ सेक्सनमा गणित विषयको कोर्ष पूरा हुन नसकेको मावि खलंगाका सहायक प्रधानाध्यापक दामोदर जोशी बताउनुहुन्छ । ‘शिक्षकको जिम्मेवारी परिवर्तन र अन्य केही कारणले पूरै कोर्षको पढाइ भएको छैन, नयाँ शैक्षिकसत्रको सुरुमै बाँकी कोर्ष पढाउने तयारी गर्छौ’ उहाँले भन्नुभयो ।
मावि खलंगामा कक्षा ८ को ई सेक्सनमा गणित विषयका २२ पाठमध्ये पाठसंख्या ९ र २२ को पढाइ भएको छैन । पाठसंख्या २१ को पनि आधा मात्रै पढाइ भएको एक विद्यार्थीले बताए । कक्षा ८ को जिल्लास्तरीय परीक्षा चैत्र ८ गतेबाट सुरु हुँदैछ । कक्षा ८ कै कम्प्युटर शिक्षा विषयका २० पाठमध्ये पाठसंख्या १८, १९ र २० को पढाई नभएको ती विद्यार्थीले बताए ।
कक्षा ७ को सेक्सन ए मा पनि गणित विषयको पठनपाठन अधुरो छ । उक्त सेक्सनमा अध्ययनरत एक विद्यार्थीका अनुसार गणित विषयका जम्मा २१ पाठहरुमध्ये ४ वटा पाठको पढाइ भएको छैन । पाठसंख्या १६, १७, १८ र १९ को पठनपाठन नभएको ती विद्यार्थीले बताए । उनका अनुसार पाठसंख्या २१ को पनि आधा मात्रै पढाइ गरिएको छ ।
मावि खलंगामा कक्षा ६ को ए सेक्सनमा सामाजिक र कम्प्युटर विषयको पढाइ पूरा हुन सकेको छैन । उक्त सेक्सनमा अध्ययनरत एक विद्यार्थीका अनुसार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयमा जम्मा ९ वटा युनिटहरु रहेकोमा युनिट नम्बर ८ र ९ को पढाइ भएको छैन । युनिट ८ मा जनसंख्या र जनसांख्यकी शीर्षक छ भने युनिट ९ मा अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक घटना र सुचना प्रविधि शीर्षक छ ।
कक्षा ६ कै कम्प्युटर शिक्षामा १७ वटा युनिट रहेकोमा १५ युनिटको मात्रै पढाइ भएको छ । युनिट नम्बर १५ को पेन्ट प्रोग्राम र युनिट १६ को मल्टिमिडिया शीर्षकको पढाइ हुन नसकेको ती विद्यार्थीले बताए ।
कक्षा ९ को एफ सेक्सनमा अनिवार्य गणित विषयको पढाई पूरा नभएको जानकारी मात्र आफुसंग रहेको सहायक प्रधानाध्यापक दामोदर जोशीले बताउनुभयो । ‘बाँकी कक्षा र सेक्सनहरुको पढाइ पूरा नभएको जानकारी छैन’ उहाँले भन्नुभयो । धेरै कक्षा र सेक्सनमा पठनपाठन पूरा नभएको विषयमा शिक्षकस्टाफसंग छलफल गरिने उहाँले बताउनुभयो ।