लेकमका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने

0
227

दार्चुला,भाद्र १९ गते ।
लेकम गाउँपालिकाका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने भएका छन् । प्रस्तावित निजामती सेवा ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएको भन्दै भदौ २२ को निजामती सेवा दिवस विरोधस्वरुप नमनाउने भएका हुन् । ऎनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिदा कर्मचारीहरु बीच विभेद भएको भन्दै निजामती सेवा दिवस मनाउन उपयुक्त नठानी विरोधस्वरुप कालोपट्टी बाधी विरोध जनाउने निर्णय भएको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखर चन्द्र ओझाले जानकारी दिनु भयो ।
मंगलबार लेकम गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिकाका अध्यक्ष राम दत्त जोशीमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिहंदरवार काठमाडौं र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढीलाई ज्ञापन पत्र बुझाएको उनले बताउनु भयो । उनीहरुले बुझाएको ९ बुदे ज्ञापनपत्रमा संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्रै हुनु पर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमान योग्य चक्रिय प्रणालीमा हुनु पर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नु पर्ने, सबै तहका कर्मचारीहरुको सेवा सुविधामा विभेद नभई समान हुनु पर्ने माग गरिएको छ ।
यस्तै सबै तहमा कार्यरत कर्मचारीहरुलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेरहद नलगाउनु पर्ने, सबै तहका कर्मबचारीहरुको वृति विकासको बाटो खुला गर्ने र उमेर हद हटाउनु पर्ने, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाको हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती हुनुपर्ने माग गरि ज्ञापन पत्र बुझाएको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखर चन्द्र ओझाले जानकारी दिनु भयो ।