दार्चुलाको तिङ्करमा बीओपी स्थापना

0
214

दार्चुला
दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलकाे बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । शुक्रवार हिजाे दार्चुलाकाे व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको हाे ।
चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो । तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीकाे सङ्ख्या पाँच वटा पुगको छ । दार्चुलाकाे दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन्।
तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रकाे सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताउनु भयाे । तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएकाे छ । व्यास गाउँपालिकाको वडा नम्बर २ काे माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ । भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेकाे महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले बताउनु भयाे ।
नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।
व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् ।
सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन् । तिङ्करको बीओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी अन्य सुरक्षा निकायका प्रमुख, राजनीतिक दलहरुका प्रमुख लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । बोर्डर आउट पोष्ट स्थापना गर्न गएकाे टोली शनिवार भारतीय बाटो हुँदै जिल्ला सदरमुकाम फिर्ता भएको छ ।