भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरापर्व शुरु,आज बिरुडा भिजाँइदै

0
229

दार्चुला,भाद्र १८ गते ।
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । भाद्र ७ गते गौरा पर्व नमनाएको दार्चुलाको लेकम क्षेत्रमा आजबाट गौरा सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् ।
केही ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ भने केही ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै आजदेखि गौरा शुरु भएको स्थानीय संस्कृतिका जानकार हरिदत्त जोशीले बताउनुभयो । गौरा पर्वको पहिलो दिन आज बिरुडा पञ्चमी घर–घरमा महिलाहरुले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको मालिकार्जुन गाउँपालिका वडानम्बर– ४ स्थानिय कलावती धामीले जानकारी दिनुभयो । गौरा पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
आज विरुडा पञ्चमी भएकाले महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ भने गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ ।