दार्चुलाकी भागरथी हत्यामा नाति र उनका साथीको संग्लनता

0
317

दार्चुला,भाद्र १७ गते ।
मालिकार्जुन गाउँपालिका ७ का ८३ वर्षीया भागरथी चन्दको हत्यामा उनकै नातिको संग्लनता रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले आईतबार पत्रकार सम्मेलन गर्दै घटनामा संग्लन उनकै नाति २१ वर्षीय दिपक चन्द र जिल्लाको दुहुँ गाउँपालिका ३ का १८ वर्षिय आशिष बमलाई सार्वजनिक गरेको हो ।
भदौ ८ गते घरमा एक्लै रहेका बृद्ध एकल महिला चन्दलाई दुवै जनाले धारिलो हतियार हसियाँ, कैची, र चक्कुले प्रहार गरी हत्या गरेको उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । बृद्ध महिलाको घरमा पुगेर उनीहरुले घाटी, छाती, पेटमा हतियार प्रहार गरेको पाइएको उहाँले बताउनु भयो । बृद्धको घरबाट उनीहरुले १०० का अमरेकी डलर नोट पाँच, तथा १ हजारको कोरियन नोट १, तथा नेपाली ४० हजार रुपैयाँ पाइएको छ ।
यस्तै तेपाले सुनको गहना ९० हजार रुपैयाँको विक्री गरेर पाइएको प्रहरीले जनाएको छ । हत्या गरि उनलाई घरभन्दा तीन सय मिटर पर भीरालो जमिनमा फाली ढाकेको अवस्थामा भाद्र ११ गते मात्रै शव फेला परेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हत्या लगत्तै फरार रहेका दुवै जनालाई प्रहरीले भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट पक्राउ गरेको डिएसपी पाण्डेयले बताउनु भयो ।
सदरमुकाम खलंगामा बस्दै आएका दुवै जना हत्या लगत्तै भदौ ९ गते भारतको धारचुला गएको थिए । भदौ १० गते सदरमुकाम खलंगामा रहेको डि राज ज्वैलरी सुनचादी पसलमा सुन बिक्री गरेको खुलेको छ ।
दुवै जना भारतको बाटो हुँदै महेन्द्रनगर पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अहिले उनीहरुमा माथि जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । उनीहरु विरुद्ध भदौ १२ गते ज्यान सम्बन्धी कसुर तथा अपराध मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।