डेङ्गु संक्रमणबाट दार्चुलामा १४ वर्षीया किशोरीको मृत्यु

0
254

दार्चुला,भाद्र १७ गते ।
दार्चुलामा डेङ्गु संक्रमणबाट १४ वर्षीया जेलिना चैसिरको भारतको हल्द्धानीमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा–९ दत्तुकी १४ वर्षीया चैसिरको मृत्यु भएको पारीवारीक स्रोतले जनाएको छ ।
भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गु संक्रमण पुष्टि भएपछि थप उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो । तर पिथौरागढमा समेत उनको उपचार सम्भव नभएपछि अस्पतालले हल्द्धानी रिफर गरेको थियो । हल्द्धानी अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको बताइएको छ । चैसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक राजेश सिह सामन्तले जानकारी दिनु भयो ।
चैसिरको उपचारको क्रममा मृत्यु भएपछि विद्यालयले आईतबार शोक विदा दिएको छ । चैसिरको अल्पायुमै मृत्यु भएपछि गाउँ शोकमग्न भएको छ । दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले जानकारी दिनु भयो । जिल्लामा चालू आर्थिक वर्षको हालसम्म ३७ जनामा डेङ्गु संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।