बंगाबगडका केहि होटेलमा देहव्यापार,सुरक्षाकर्मीको भुमिका निरीह रहेकाे आरोप

0
669

दार्चुला
दार्चुलाको सदरमुकाममा अवैध रुपमा देहव्यापार भइरहेको खुलेको छ । जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिका वडानम्बर ४ बंगाबगडका केही होटेलमा देहव्यापार भइरहेको स्थानीयले बताएका छन् । बंगाबगडको रिङलेतालदेखि चौराहसम्मका केही होटेलहरुमा बिगत वर्ष देखि नै महिलाहरु राखी अस्लील, विकृतीजन्य क्रियाकलापसँगै देहव्यपार भइरहेको नाम सार्वजनिक नगर्ने सर्तमा बंगाबगड बस्ने एक स्थानीयले बताएका छन् ।
अबैध रुपमा देहव्यापार सञ्चालन भइरहेकोले सामाजिक तथा पारिवारिक रुपमा वातावरण धमिल्याउने, चोरी, लुटपाट, झैझगडा भइरहेको, आमाबाबु, छोराछोरीसँगै भएको अवस्थामा अपाच्य बोली सुन्नुपर्ने जस्ता गतिविधि भइरहेको उनी बताउँछन् । महिलाहरु राखि भइरहेको अस्लील, विकृतिजन्य देहव्यापार गर्ने व्यवसायी र होटेलहरु तत्काल बन्द गर्नुपर्ने मागसहित बंगाबगड क्षेत्रका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आवश्यक कारवाहीका लागि निवेदनसमेत दिएका छन् ।
बंगाबगड क्षेत्रमा बसोबास गरिरहेका स्थानीय र व्यवसायी गरि ३५ जनाको हस्ताक्षर सहित विभिन्न माग राख्दै विकृतिजन्य कार्य हटाउन प्रशासनलाई निवेदन दिइएको खुलेको छ । स्थानीयहरुले निवेदनमार्फत अस्लील र विकृतिजन्य क्रियाकलाप देहव्यापारमा संलग्न होटल तथा महिलाहरुलाई नियमित निगरानी गरी कारवाहीका लागि सुरक्षाकर्मीबाट पहल सुरु गर्नुपर्ने, सर्वसाधारणको घर कोठामा राती ढोका ढकढकाउने ढुङ्गा हान्ने र परिवारमा त्रासको वातावरण सृजना भएकोले त्यस्ता अराजक समुहलाई यथाशिघ्र कानुनी दायारामा ल्याई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरि दैनिक रुपमा भारतीय नागरिकहरु नेपालको बंगाबगड रिङलेतालदेखि चौराहका विभिन्न होटल पसलहरुमा आउने र निर्बाध रुपमा यौनकर्मीको रुपमा अन्य सर्वसाधारण महिलाहरुलाई समेत यौन प्रस्ताव गर्ने गरेकोले उक्त समुहलाई नियन्त्रण गर्नुपर्ने निवदेनमा उल्लेख गरेको छ । त्यस्तै राती ९ः३० बजे होटल बन्द गर्ने निर्णय स्विकार गरेको अवस्थामा अन्य होटल तथा पसल बन्द भएपछि देहव्यापार पेशामा लागेका होटल पसल सक्रिय हुने भएकाले रातीको सुरक्षा गस्ती बढाउनुपर्ने निवेदनमार्फत माग गरेका छन् ।
विगत लामो समयदेखि देह व्यापार सञ्चालनमा रहेको भएता पनि अहिलेसम्म सुरक्षाकर्मीको भुमिका निरीह रहेको स्थानीयले आरोप समेत लगाएका छन् । स्थानीयले प्रशासनमा ६ दिन अगाडि निवेदन दिएका थिए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले बंगाबगड क्षेत्रका स्थानीयले केही होटेल व्यवसायीले देहव्यापार सञ्चालन गरेको भनी निवेदन दिएको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको जनाएको छ । निवेदन हामीकहाँ पुगिसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । स्थानीयहरुले एकिन सुचना दिएर सहयोग गरे हामीलाई अनुसन्धान गर्न थप सजिलो हुने प्रहरीको भनाई छ ।