लिम्पीयाधुरा सहितको नयाँ नक्सा दार्चुला ल्याइयो

0
2037

दार्चुला, साउन ७ गते ।
अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा–लिपुलेक–कालापानी समेटीएको नेपालको नयाँ नक्सा दार्चुला ल्याईएको छ । नापी विभागले सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुका लागी असार ३ गते नापी कार्यालय धनगढीलाई पठाएका नक्साहरु झण्डै एक महिनापछि दार्चुला पुगाइएका छन् । विभागले सुदुरपश्चिमका सबै जिल्लाहरुमा नक्सा पुगाउने जिम्मा नापी कार्यालय कैलालीलाई दिएकोले कैलालीबाट ३ जनाको टोली नक्सा ल्याएर बुधबार दार्चुला पुगेको नापी कार्यालय दार्चुलाका प्रमुख दिपेन्द्र सिह कुवरले जानकारी दिनुभयो ।
नापी कार्यालय कैलालीका ३ जना कर्मचारी मोहन दत्त अवस्थी, टेकेन्द्र धामी र नरेन्द्र नाथ योगी नक्सा पुगाउन दार्चुला आएको उहाँको भनाई छ ।
कैलालीबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ९६ थान नक्सा हस्थान्तरण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
नापि विभागले ४ हजार थान नक्सा धनगढी पठाएकोमा ९६ थान मात्रै दार्चुला पुगेछ भन्ने कालापानी न्युज डटकमको प्रश्नमा सूचना अधिकारी कुवरले एक सय थान नक्सा दार्चुला आउने पुर्व जानकारी भएपनि ९६ थान नक्सा मात्रै पुगेको बताएका छन् ।
नयाँ नक्साहरु सरकारी कार्यालय र स्थानियतहहरुलाई वितरण गरिने उहाँको भनाई छ ।
सिमीत संख्यामा नयाँ नक्सा आएकोले प्रत्येक स्थानियतहहरुका वडासम्म नक्सा वितरण गर्न कमी हुने उहाँको आकलन छ ।

मन्त्रिपरिषद्को बैठकले भारतबाट अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको भूगोल समेटेर जेठ ५ गते संसोधित नक्सा स्वीकृत गरेको थियो । जेठ ७ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको थियो । राष्ट्रिय सहमतिका साथ असार ४ गते संसोधित नक्साअंकित नेपालको निशाना छापको अनुसूची संविधानमै संसोधन भइसकेको छ ।