महाकाली तटबन्धबाट अवरुद्ध यातायात सुचारु

0
934

दार्चुला, साउन ७ गते ।
आइतबार राती आएको अविरल बर्षाका कारण महाकाली नगरपालिका वडा नं ५ मा रहेको धौलीगाड खोलाले सडक बगाएपछि अवरुद्ध बनेको यातायात महाकाली तटबन्धबाट सुचारु गरिएको छ ।
धौलीगाड खोलाले कल्र्भट बगाएपछि दार्चुला सदरमुकाम जोड्ने महाकाली लोकमार्ग सोमबार र मंगलबार दिनभरि अवरुद्ध बनेको थियो ।
धौलीगाड खोलमा पानीको बहाब बढी भएकाले अस्थायी रुपमा तत्काल सदरमुकामलाई जोड्न महाकाली तटबन्धबाट यातायात सूचारु गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।
महाकाली नदी नियन्त्रण आयोजनाको तटबन्धमा पनि पहिरो खसेको भएकाले आयोजनाको जेसिवि प्रयोग गरि तटबन्धबाट यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
धौलीगाड खोला क्षेत्रबाट नै यातायात सुचारु गर्नका लागि केही समय लाग्न सक्ने उहाँको भनाई छ ।
‘खोलामा पानीको बहाब बढी छ, सडक सुचारु गर्न सडक विभागलाई भनको छु, महाकाली नगरपालिकालाई पनि भनेको छु , केहि दिनमा माथिबाट नै सडक सुचारु हुन सक्छ ’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो ।