म्याद नाघेको मदिरा विक्रिमा राख्ने बोहरा वाईन सेन्टरलाई जरिवाना

0
833

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली पहिलो पटक दार्चुलामा

दार्चुला, माघ १० गते । म्याद नाघेको मदिरा विक्रिमा राख्ने दार्चुला सदरमुकाम खलंगामा रहेको बोहरा वाईन सेन्टरलाई बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । शुक्रबार दार्चुला पुगेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले शनिबार विहान दार्चुला सदरमुकाम खलंगा बजारका पसलहरुमा अनुगमन गरेको छ ।
डेरी, खाद्यान्न, कस्मेटीक, कपडा लगायतका चार वटा पसलहरुलाई नमुनाका रुपमा अनुगमन गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगरले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद नाघेको मदिरा विक्रिमा राखेको बोहरा वाईन सेन्टरलाई १५ हजार जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।
“पसलमा म्याद नाघेको मदिरा जन्य सामग्री राखेको रहेछ, खरिद विल देखाउँ भन्दा त्यो पनि देखाउन सकेनन्, उक्त ब्यापारीलाई विभागले १५ हजार रुपैयाँ जरिवाना गरेको छ ”उहाँले भन्नुभयो ।

विभागको टोली पहिलो पटक दार्चुलामा

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली पहिलो पटक दार्चुला पुगेको छ । सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा बजारको अवस्था अनुगमनका क्रममा महानिर्देशक सहितको टोली पहिलो पटक दार्चुला जिल्ला पुगेको हो । टोलीमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुबेदी, निर्देशक सागर मिश्र, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका बोर्ड सदस्य श्याम भट्ट, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल बहादुर पुनमगर लगायत रहेका थिए । पत्रकारहरु संगको भेटघाटमा विभागका निर्देशक सागर मिश्रले खाद्य सामग्री खरिदमा उपभोक्ता चनाखो हुनुपर्ने बताउनु भयो । ब्यापारीले म्याद नाघेका सामग्री समेत विक्रिमा राख्न सक्ने भएकाले उपभोक्ताहरुले उपभोग्य मिति हेरेर मात्रै खरिद गर्ने गरेमा अखाद्य सामग्री भान्सामा पुग्नबाट जोगिन सकिने उहाँको भनाई छ ।

विभागका महानिर्देश नेत्रप्रसाद सुबेदीले खाद्यन्न सामग्री वा कुनै पनि सामानमा रहेको अधिकतम मुल्य भन्दा बढी रकम ब्यापारीले मागेमा त्यसमा उपभोक्ताले प्रतिकार गर्नुपर्ने बताउनुभयो । उत्पादक कम्पनीले देशभरिको भुगोलका आधारमा अधिकतम मुल्य निर्धारण गर्ने भएकाले उक्त मुल्य भन्दा बढी ब्यापारीले लिन खोजेमा सम्बन्धीत निकायमा गुनासो राख्नुपर्ने उहाँको भनाई छ ।
उपभोक्ताका कुनै गुनासो भएका विभागको टोल फ्रि नम्बर ११३७ मा समेत उजुरी गर्न सकिने उहाँले बताउनुभयो । साथै बजार अनुगमन, नियमन, कारवाही लगायतको सम्पुर्ण अधिकारी सम्बन्धीत जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारीलाई भएकाले नियमित बजार अनुगमन हुनुपर्ने निर्देशक मिश्रको भनाई छ ।