मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुनियोः मन्त्री बडु 

0
631

बिरा दत्त भट्ट
दार्चुला, पुष २९ गते । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा मानसरोवर जाने बाटो अघि बढाएको भन्ने सुन्नमा आएको नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले बताएका छन् ।

प्रेस युनियन दार्चुलाले विहीबार दार्चुला सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । । मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराएको मन्त्री बडुले बताउनुभयो । ‘नरेन्द्र मोदी ज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसङ्ग जोडिएको छ, प्रसङ्ग जे भएपनि त्यो हाम्रो भूमि हो’ मन्त्री बडुले भन्नुभयो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित नेपाली भूमिबारे गत पुष १५ गते उत्तराखण्ड राज्यको नैनीताल जिल्लाको हल्द्वानी शहरमा आयोजित कार्यक्रममा पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका थिए । मोदीले आफू नेतृत्वको सरकारले लिपुलेक जोड्ने सडक निर्माण गरेको र यसको विस्तार कार्य भइरहेको बताएका छन् । यस विषयमा नेपाल सरकारले हाल सम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेका छैन । 

दार्चुला र भारत जोडने मोटरेबल पुल महत्वपूर्ण 

पत्रकार सम्मेलनमा अर्काे प्रसंगमा बोल्दै मन्त्री बडुले दार्चुलामा निर्माण हुने नेपाल भारत जोड्ने मोटरेबलपुल व्यापारिक हिसाबले महत्वपूर्ण भएको बताउनुभएको छ । गत पुष २५ गते हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दार्चुलाको पुल प्रमुख एजेण्डा भएको मन्त्री बडुले दाबि गरेका छन् ।

भारतमा कोरोना संक्रमण बढेकाले पुष २२ गते प्रधानमन्त्रीको उक्त भ्रमण रद्द गरिएको थियो । ‘प्रधामन्त्रीको भारत भ्रमण रद्द भएपनि पुल निर्माणको एजेण्डा पास भएको छ, यस विषयमा भारतका विदेश मन्त्री आफैले विज्ञप्ती जारी गरेका छन्, भारतको केन्द्रिय सरकारले मोटरेबल पुल निर्माण खुला गरिसक्यो’ मन्त्री बडुले भन्नुभयो ।


दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ असिगडा र भारतको धार्चुला तहशिल अन्र्तगतको छरछुममा मोटरेबल पुल निर्माणका लागि भारतीय सरकारले अनुमति प्रदान गरेको छ । पहिलेको भन्दा केहि लामो बनाएर दुवैतर्फको सडकमै भएर पुल बनाइने मन्त्री बडुले बताउनुभएको छ ।  

दार्चुला–तिंकर सडकको महत्व समाप्त गर्न खोजियो 

मन्त्री बडुले दार्चुला तिंकर सडकलाई महाकाली कोरिडोरमा गाभेर यसको महत्व समाप्त पार्न खोजिएको आरोप लगाएका छन् । दार्चुला तिंकर सडक खण्डको ३० किलोमिटर क्षेत्रमा कालोपत्रेका लागि आफुले पहल गरेको उहाँको भनाई छ । ‘यो सडक धेरै पहिलेदेखि सञ्चालन भएको योजना हो, यसमा सबैले इटा थप्ने काम गर्नुपर्छ, आफुले थपेको बारेमा मात्रै भनेको हुँ’ बडुले भन्नुभयो । 


केही दिनदेखि दार्चुला—टिंकर सडक अन्तर्गत ३० किलोमिटर सडक खण्डको कालोपत्रे निर्माणका लागि करिब ४ अर्ब बजेट विनियोजन गरिएकोमा एमाले र काङग्रेसका कार्यकर्ता विच आफ्ना नेताले गरेको भन्दै सामाजिक सञ्जालमा श्रेय लिने होडबाजी भइरहेको छ ।


नेकपाको सरकार भएकाबेला दार्चुला तिंकर सडकका लागि ६ करोड बजेट प्रस्ताव गरिएको भएपनि डिपिआरको कागज नभेटिदा योजना आयोगमा फाइल थन्कीएको उहाँको भनाई छ । आफू सरकारमा आएपछि डिपिआरको फाइल खोजेर स्रोत सुनिश्चितता गरिएको मन्त्री बडुले बताउनुभएको छ ।