माथिल्लो चमेलिया जलविद्युत आयोजना २० महिनामै सम्पन्न गर्ने लक्ष्य

0
685
आयोजनाको उद्धघाटन गर्दै मार्मा गाउँपालिका अध्यक्ष

बिरा दत्त भट्ट, दार्चुला ।
कार्तिक २ गते । माथिल्लो चमेलिया जलविद्युत आयोजना २० महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीले लक्ष्य राखेको छ । शनिबार अपिपावर कम्पनी लिमिटेडको दार्चुलामा तेस्रो जलविद्युत आयोजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले सिलान्यास गर्नुभएको छ । उक्त योजना आगामी २० महिना भित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । अपिहिमाल गाउँपालिकाको ओखलभेल भन्ने स्थानमा आयोजनाको बाध बनाई ६ किलोमिटर लामो ३ दशमलब २ डायमिटरको पेनस्टक पाइपको साहयताले चमेलिया नदीको पानीलाई फर्काई मार्मा गाउँपालिकाको घट्टेगाडमा विद्युत गृह निर्माण गरिने कम्पनीले जनाएको छ ।
जलविद्युत आयोजनाबाट ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरि १६ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको बलाच सबस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीका सञ्चालक इन्द्रमणी त्रितालले जानकारी दिनुभयो ।
आयोजनाका निर्माणका लागि ७ सय ४० करोड लगानी लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । कुल लागत मध्ये ३० प्रतिशत हुने गरि २ सय २२ करोड कम्पनीले आफ्ना सेयर धनिहरुमार्फत दुई चरणमा रकम संकलन गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ । बाकी ७० प्रतिशत हुने सय १८ करोड रकम हिमालयन बैंक लिमिटेडको अगुवाईमा विभिन्न बैंक तथा वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण गरिने कम्पनीले जनाएको छ ।