दार्चुलामा महाकालीको धार परिवर्तनको विवाद समाधान गर्न दुई देशका अधिकारीबीच छलफल

0
396

दार्चुला,मंसिर १९ गते ।
आइतवार बेलुकि चार बजेतिर सदरमुकाम खलंगा क्षेत्रमा महाकाली वारिपारी ढुङ्गामुडा हुँदा उत्पन्न भएको तनाव कम गर्न आज (सोमवार) भारतीय अधिकारीहरुले नेपाली अधिकारीहरुसँग भेटघाट गरेका छन् । भारत उत्तराखण्ड, पिथौरागढ जिल्लाका अपरजिलाअधिकारी (एडिएम) फियाराम चौहान र धारचुलाका उपजिलाअधिकारी (एसडिएम) दिवेश साशनीले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्याय र सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेका हुन् । आइतवार भएको ढुङ्गा हानाहानमा नेपाल र भारत दुवैतिरका एक एक जना घाइते भएका थिए भने नेपाल भारत जोड्ने पुल क्षेत्रमा स्थानीयले बिरोध जनाउँदा प्रहरीले लाठी चार्ज गरेको थियो । ‘भारततिर पनि नेपाली मजदुरनै घाइते भएका रहेछन् र नेपालतिर पनि घाइते भएका छन् । दुवैतिरका घाइतेहरुको समान्य उपचार गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने । सीमा क्षेत्रमा थप तनाव हुन नदिन भारतीय अधिकारीहरुले समन्वय गर्न अनुरोध गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफूहरु त्यसका लागि तयार रहेको र त्यसका लागि भारतीय पक्षले गरेका प्रतिबद्धताहरु पूरा गर्नु पर्ने बताएको जानकारी गराएका छन् । भारतीय स्थानीय अधिकारीहरु र निर्माण कम्पनीहरुले गरेका मौखिक प्रतिबद्धताहरु पूरा नहुँदा जनमानसमा भारतप्रति नकारात्मक धारणा सिर्जना भएको र त्यसको असर पछिल्लो घटनाक्रम भएको उनले बताए । ‘पुराना मौखिक सम्झौता भए, अधिकारीहरु परिवर्तन हुँदै जान्छन्, कार्यान्वयन गराउन समस्या हुने भएकाले अब भारतीय पक्षसँग गरिने सम्झौताहरु लिखित गर्ने तयारी गरेकोे छुँ’ उनले भने ।
लिखित सम्झौता गर्न समस्या ?
भारतीय पक्षले मौखिक सम्झौता कार्यान्वयन नगर्दा लिखित नै गर्नु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउँछन् । तर भारतीय पक्षसँग लिखित सम्झौता गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार छ वा छैन ? भन्ने प्रश्न जस्ताको त्यस्तै छ । दुई देशका अधिकारीबीच औपचारिक छलफल भएको, भेटघाट भएको माइनुटसम्म गरिन्छ तर लिखित सम्झौता गर्न माथिल्लो निकायको स्वीकृति लिनु पर्दछ । यस्तो अवस्थामा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतको पिथौरागढ जिल्लाका अधिकारीसँग कसरी लिखित सम्झौता गर्न सक्छन् ? परराष्ट्र मन्त्रालयमार्फत हुने लिखित सम्झौता स्थानीय अधिकारीहरुले गर्न सक्लान् ? भन्ने प्रश्न यथावथ रहेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष लक्षमणसिह धामी बताउँछन् । आफूलाई लिखित सम्झौता गर्ने अधिकार नभएपनि स्थानीय स्तरको वस्तुस्थितिलाई ध्यानमा राखेर आफूले लिखित सम्झौता गर्ने तयारी गरेको र त्यसको जानकारी भारतीय पक्षलाई पनि दिएको प्रमुख जिल्ला अधिकारी उपाध्याय बताउँछन् ।
सम्झौता कार्यान्वयन गर्न सजिलो हुने
नेपाली अधिकारीहरुले भारतीय पक्षसँग लिखित सम्झौता गर्न सके पछि आउने अधिकारीहरुलाई कार्यान्वयन गराउन सजिलो हुनेछ । भारतीय पक्षले अहिलेसम्म नेपाली अधिकारीहरुसँग गरिएको मौखिक सम्झौता कार्यान्वयन नगरेको गुनासो आएको छ । लिखित नराखिएकाले कुन पक्षले के सम्झौता गरेको थियो भन्ने वारेमा जानकारी नहुँदा सरुवा भई आउने अधिकारीलाई कार्यान्वयन गर्न समस्या हुने गरेको छ ।
पाँच वर्ष अगाडि भारतले सीमा क्षेत्रमा बनाउँदै गरेको सडकले महाकाली नदी ठाउँठाउँमा थुनियो, ब्याँस जाने घोरेटो बाटो पूर्ण रुपमा बन्द भयो । दुई देशका अधिकारीहरुको बैठकमा भारतको सडक निर्माण गर्ने कम्पनीले नै नदीको थुनछेक हटाउने र नेपालतिरको बाटो बनाउने मौखिक सम्झौता गर्यो तर अहिलेसम्म कार्यान्वयन नभएको नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्व अध्यक्ष शंकरसिह धामी बताउँछन् । त्यतिमात्रै नभएर सदरमुकामपारि भारतीय क्षेत्रमा गएको पहिरोले महाकालीको वहाव नेपालतिर फर्कायो, नेपालले उक्त पहिरो हटाउन आफै मेसिन लगायो तर भारतीय पक्षले आफै पहिरो सफा गर्ने प्रतिबद्धता गर्यो । भारतले उक्त पहिरो अहिलेसम्म हटाएको छैन ।
पछिल्लो समयको विवादको मूख्य कारण भारतले महाकाली नदी किनारमा बनाउन लागेको तटबन्ध निर्माणका लागि महाकाली नदीको बीचमा राखेका तारजालीको पर्खाल हो । उक्त तारजालीयुक्त पर्खाल भारतीय पक्षले बर्खापूर्व नै हटाउने मौखिक सहमति गरेको थियो तर हटाएन । त्यसै कारण यो बर्खामा महाकाली नदीको बहाव नेपालतिरको तटबन्धभन्दा माथि आयो र खलंगाको बांगाबगड क्षेत्रमा भौतिक क्षति गर्यो । यसरी भारतीय पक्षले पटक पटक मौखिक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने भएकालेस्थानीयमा आक्रोस बढेको र स्थानीय अधिकारीहरुलाई सम्झौता कार्यान्वयन गर्न समस्या भएकाले लिखित सम्झौतको तयारी गर्न लागिएको हो ।
सामान्य प्रदर्शमा प्रहरीको लठ्ठी
दोहोरो ढुङ्गा हानाहान हुँदा स्थानीय घाइते भएपछि बिरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले गरेको लाठी चार्जको विरोध गरिएको छ । प्रदर्शन शान्त थियो, प्रहरीले एक्कासी लाठी चार्च गर्यो । भारतीय पक्षलाई सम्झाउनुको सट्टा नेपालीहरुमाथि नै बिना कारण लाठी चार्ज गरेको स्थानीय सुरेन्द्र बडालले बताए । यसै विषयमा आज एमाले निकट अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । ‘प्रदर्शनकारीहरुले पुलमा भिडभाड गरेका थिए । पुरानो पुल भएकाले भार थेग्न नसक्ने अवस्था आयो र नेपालतिर भारतीयहरु पनि आएकाले भीडबाट उनीहरुलाई सुरक्षित भारत पठाउन प्रहरीले भिड हटाएको हो, लाठी चार्ज गरेको होइन ।’ डिएसपी तर्कराज पाण्डेले भने ।
के गर्दैछ सशस्त्र प्रहरी ?
सीमा सुरक्षाको मुख्य जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलको ४४ नम्बर गण सदरमुकाम मै छ । आइतवार नेपाल र भारतीयबीच ढुंगामुडा हुँदा सशस्त्र प्रहरी पुलघाट क्षेत्र मै थियो तर उसले ढुंगामुढाको पूर्वानुमान गर्न सकेन । पुल क्षेत्रमा रहेको सशस्त्र प्रहरीले प्रहरी र भन्सार कार्यालयसँग मिलेर समान चेकजाँच गर्ने जिम्मेवारीमा छ । सीमा सुरक्षाको लागि पोसाक र बिनापोषकका प्रहरी परिचालन गरिएको बताउँदै ४४ नम्बर गणका सुचना अधिकारी बीरसिह धामी भन्छन्, ‘हामी निरन्तर सीमा क्षेत्रमा हुने गतिबिधिको जानकारीमा छौँ । आइतवारको घटना जुनसुकै बेला हुन सक्ने थियो, अबका दिनमा पनि हुन सक्छ, भारतीय सीमा सुरक्षा बलसँगको सहकार्यमा नै सोमवार विहान भारतीय पक्षबाट गरिएको पुल बन्दीलाई खोलिएको हो ।’ भारतीय पक्षले मौखिक गरेको सम्झौतालाई कार्यान्वयन नगर्दा स्थानीयले बिरोध गर्ने अवस्था सिर्जना भएको सशस्त्र प्रहरीको स्रोत बताउँछ । हामीले भारतीय पक्षलाई यसको जानकारी पनि गराएका हौँ तर उनीहरु सम्झौता कार्यान्वयन किन गर्दैनन् ? थाहा हुन सकेको सशस्त्र प्रहरीको स्रोतको भनाई छ ।
धार परिवर्तन गरिएन ः खलंगा जोखिममा
भारतीय पक्षले तटबन्ध निर्माण गर्दा नेपालतिर फर्काएको महाकालीको धार अझै साविकमा फर्काएको छैन । एकातिर महाकालीको धार नेपालतिर फर्काइएको छ अर्कोतिर महाकालीमा धेरै ढुंगामाटो आएर नदीको सतह बढेको छ । यस्तो अवस्था रहने हो भने बर्खामा खलंगाको बांगाबडदेखि गल्फैसम्मको ठूलो क्षेत्रमा कटान र डुबान हुने स्थानीय चक्रबहादुर बंम बताउँछन् । आफूले पटक पटक स्थानीय प्रशासनलाई यो वारेमा जानकारी दिए पनि सरकारी पक्षबाट भारतीय निर्माण कार्य रोक्ने वा महाकालीको धार साविकमै फर्काउने काम हुन नसेकोले बाध्य भए स्थानीय प्रतिकारमा उत्रिनु परेको उनी बताउँछन् । सत्तरी सालमा महाकालीमा आएको बाढीले घर बगाएर पीडित बनेका स्थानीय मानसिह कार्की भन्छन्, ‘नेपाल सरकार केही गर्न सक्दैन, अब जे गर्छौँ हामी नै गछौँँ, एक दिन मरेर जाने हो, सीमामै मर्न पाए पनि ठिकै हुन्छ ।’