महाकालीको वालुवा निकाल्ने मेसिनमा रोक

0
2064

दार्चुला, माघ २६ गते ।
महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम खलंगाको वीरेन्द्रवन क्षेत्रमा वालुवा निकाल्न लगाइएको मेसिनमा रोक लगाएको छ । नदी किनारको वालुवा निकाल्दा नदीको वहाव नेपालतर्फ फर्किने र तटबन्धको संरचना जोखिममा पर्ने भन्दै विरोध गरिएपछि मेसिन प्रयोग बन्द गरिएका छन् ।
वीरेन्द्रवन क्षेत्रमा निर्माण कम्पनीले वालुवा संकलनका प्रयोग गरेको जेसिवी मेसिन आइतवारबाट रोकिएको छ । थप अध्ययन र छलफलपछि मात्रै नदी किनार क्षेत्रको वालुवा संकलनमा मेसिन प्रयोग गर्न दिइने महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख कमलसिह महतले बताउनुभयो । ‘तत्कालका लागि मेसिन प्रयोग गरी वालुवा निकाल्न रोकेका छौ’ उहाँले भन्नुभयो ।
तटबन्ध निर्माणमा संलग्न कम्पनी राजेन्द्र निर्माण सेवाले वीरेन्द्रवन र बंगाबगर क्षेत्रबाट ठूलो परिमाणमा वालुवा संकलन गरेको छ । तटबन्ध निर्माणका चालु सबै ठेक्का उक्त कम्पनीको जिम्मामा छन् । खलंगाको नमस्कारदेखि दुहुँ गाउँपालिकाको वडा नम्बर ३ तपोवनसम्मको क्षेत्रका हाल ४ वटा ठेक्का रहेका छन् ।
वीरेन्द्रवन र बंगाबगर क्षेत्रबाट करिब १ हजार ५ सय क्युविक मिटर वालुवा संकलन गरिएको राजेन्द्र निर्माण सेवाका इन्जिनियर दीपेन्द्र भट्टले बताउनुभयो । ‘ठेक्काअन्तर्गत सबै निर्माण कार्यका लागि करिब ३ हजार क्युविक मिटर वालुवा चाहिन्छ, हालसम्म आधा जति संकलन गरेका छौ’ उहाँले भन्नुभयो ।
तटबन्ध निर्माण कार्यमा प्रयोग हुने ढुंगा, वालुवा नदी किनार क्षेत्रबाटै प्रयोग गरिने इन्जिनियर भट्टको भनाई छ । तत्कालका लागि वालुवा संकलनको काम रोकिएको उहाँले बताउनुभयो । ‘यो वर्ष गरिने निर्माणका लागि वालुवा संकलन भइसकेको छ, सम्बन्धित निकायसंग समन्वय गरी चाहिने वालुवा पछि संकलन गर्छौ’ उहाँले भन्नुभयो ।
राजेन्द्र निर्माण सेवालाई ठेक्का नम्बर १६ अन्तर्गतको कामका लागि १ हजार ९० क्युविक मिटर वालुवा आवश्यक पर्ने महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर एवं निमित्त प्रमुख कमलसिह महतले बताउनुभयो । ठेक्का नम्बर १८ का लागि भने २ हजार २ सय ४३ क्युविक मिटर वालुवा आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले अहिले ठेक्का नम्बर १६ को ८५ प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । ठेक्का नम्बर १८ को निर्माण कार्य भने सुरु भएको छैन । अहिले संकलन गरिएको वालुवा ठेक्का नम्बर १८ को निर्माणमा प्रयोग गरिने कम्पनीका इन्जिनियर दीपेन्द्र भट्टले बताउनुभयो ।