महाकालीमा ४७ लाख राजश्व

2060

दार्चुला, माघ २६ गते ।
महाकाली नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ४७ लाख ६८ हजार ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । वर्षभरी १ करोड ५ लाख ५५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले लक्ष्यअनुसार राजश्व संकलन हुने जनाएको छ ।
एक दर्जन शीर्षक र क्षेत्रमा नगरपालिकामा राजश्व संकलन भएको छ । साउनदेखि पुष मसान्तसम्मको अवधिमा सबैभन्दा बढी घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट राजश्व संकलन भएको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट नगरपालिकाले १७ लाख ७५ हजार ६ सय ९८ रुपैयाँ पाएको छ ।
व्यवसाय करबाट १४ लाख ७९ हजार ५ सय ७ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाका सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । उहाँका अनुसार व्यवसाय दर्ता र नविकरणबाट संकलन गरिएको रकम हो । विभिन्न प्रकारका सिफारिस दस्तुरबाट २ लाख ४६ हजार ४ सय ३५ रुपैयाँ राजश्व उठेको छ ।
प्रशासनिक दस्तुर, घरजग्गा पास, प्रमाणित, टेण्डर विक्रीबाट ५ लाख ३५ हजार २ सय ८७ रुपैयाँ नगरपालिकामा राजश्व संकलन भएको छ । एकीकृत सम्पत्ति कर र घरजग्गा करबाट २ लाख ४४ हजार २ सय ६१ रुपैयाँ र घरजग्गा वहाल कर २ लाख ३२ हजार ६ सय २३ रुपैयाँ संकलन भएको अभिलेख छ ।
भाडा वहाल तथा विटौरी शुल्क १ लाख १४ हजार ६ सय ३४ रुपैयाँ, भूमिकर अर्थात मालपोत कर ३२ हजार ७ सय ४१ रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना ४६ हजार ७ सय १० रुपैयाँ संकलन भएको छ । प्रशासनिक दण्ड जरिवानाअन्तर्गत व्यक्तिगत घटना दर्ताको विलम्ब शुल्क रहेको सुचना अधिकारी जोशीले बताउनुभयो ।
नाता प्रमाणित दस्तुर २८ हजार ९ सय, चार किल्ला प्रमाणित २५ हजार ५ सय ९० र कानुनी सेवा शुल्क तथा मिलापत्र दस्तुर १ हजार ४ सय रुपैयाँ राजश्व उठेको छ । शीर्षक नखुलेको अन्य आयमा ४ हजार २ सय ८० रुपैयाँ छ ।
नगरपालिकामा राजश्व संकलनको वार्षिक लक्ष्य पूरा हुने योजना शाखा प्रमुख समेत रहनुभएका सुचना अधिकारी युवराज जोशीको भनाई छ । ‘प्रथम छ महिनाको राजश्व संकलन सन्तोषजनक छ, असारसम्म वार्षिक लक्ष्य पूरा हुन्छ’ उहाँले भन्नुभयो ।
गतवर्ष नगरपालिकाले १ करोड ५ लाखको लक्ष्य राखेकोमा ७८ लाख ५९ हजार ३ सय ४३ रुपैयाँ ९० पैसा संकलन गरिएको थियो ।
आधा दर्जन शीर्षक रित्तै
महाकाली नगरपालिकाले राजश्व संकलनको वार्षिक लक्ष्य राखेका आधा दर्जन शीर्षकहरुमा भने राजश्व संकलन हुन सकेको छैन । जडिबुटी, कवाडी तथा जीवजन्तु करबाट १० हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा ६ महिनासम्म यो क्षेत्रबाट कुनै पनि राजश्व उठेको छैन ।
सवारी साधन कर, विज्ञापन कर र मनोरञ्जन कर पनि उठन सकेको छैन । यी तिनवटै शीर्षकमा पाँच÷पाँच हजार रुपैयाँ वार्षिक राजश्व संकलनको लक्ष्य छ । त्यसैगरी पार्किङ शुल्कबाट १० हजार राजश्व उठाउने लक्ष्य राखिएकोमा कुनै प्रगति भएको छैन । फोहोरमैला व्यवस्थापन शुल्क ३ लाख संकलनको लक्ष्य भएकोमा पुष मसान्तसम्म यसक्षेत्रमा पनि केही उपलब्धि भएको छैन ।
राजश्वको नयाँ क्षेत्र भएकाले थप नीतिगत व्यवस्था गरी सक्रियता बढाउन आवश्यक रहेको योजना शाखा प्रमुख युवराज जोशीले बताउनुभयो ।
वडाहरुबाट २१ लाख राजश्व संकलन
महाकाली नगरपालिकाका वडाहरुमा पुष मसान्तसम्म २१ लाख ३६ हजार ३ सय ९८ रुपैयाँ राजश्व संकलन भएको छ । नगरपालिकाले संकलन गरेको कुल राजश्वमध्ये करिब आधा रकम वडास्तरबाट संकलन गरिएको छ ।
वडा नम्बर ४ बाट सबैभन्दा बढी राजश्व संकलन भएको छ भने वडा नम्बर ६ बाट सबैभन्दा कम राजश्व उठेको छ । वडा नम्बर ४ बाट १३ लाख १६ हजार ५ सय ९५ रुपैयाँ संकलन भएको छ ।
वडा नम्बर ५ बाट ३ लाख १६ हजार १ सय, वडा नम्बर ७ बाट १ लाख ८ हजार ६ सय ६१ र वडा नम्बर ३ बाट १ लाख ३ हजार २ सय ३२ रुपैयाँ राजश्व उठेको छ । बढी राजश्व उठ्ने वडा नम्बर ४ सदरमुकाम खलंगाको मुख्य बजार क्षेत्र हो । वडा नम्बर ४ को संकलित राजश्वमध्ये व्यवसाय कर वढी रहेको राजश्व शाखाले जनाएको छ ।
वडा नम्बर ९ बाट ९३ हजार ५०, वडा नम्बर १ बाट ८० हजार ७ सय, वडा नम्बर २ बाट ५६ हजार ५ सय ९५ रुपैयाँ राजश्व उठेको छ । वडा नम्बर ८ बाट ४९ हजार ९ सय ६९ र वडा नम्बर ६ बाट १३ हजार ९ सय ८० रुपैयाँ राजश्व संकलन गरिएको नगरपालिकाको अभिलेख छ ।
साउनमा बढी संकलन
महाकाली नगरपालिकाका वडास्तरमा संकलन गरिएको राजश्व रकममध्ये साउन महिनामा सर्वाधिक राजश्व उठेको छ । साउनमा १३ लाख ७५ हजार ३ सय १८ रुपैयाँ संकलन भएको अभिलेख छ ।
आर्थिक वर्षको उठन बाँकी रकम र नविकरण दस्तुरले साउनको राजश्व बढेको सुचना अधिकारी युवराज जोशीले बताउनुभयो । भदौमा २ लाख ६२ हजार ७ सय ६२, असोजमा १ लाख ६६ हजार ३ सय ७७ र कार्तिक महिनामा ७० हजार ३ सय ५५ रुपैयाँ वडास्तरमा राजश्व उठेको छ ।
मंसिर महिनामा १ लाख ३३ हजार ६३ रुपैयाँ र पुषमा १ लाख २८ हजार ५ सय २३ रुपैयाँ राजश्व वडास्तरमा संकलन गरिएको छ । वडास्तरमा सबैभन्दा बढी व्यवसाय कर १४ लाख ६१ हजार ३ सय २० रुपैयाँ उठेको छ ।
वडास्तरबाट सिफारिस दस्तुर २ लाख ३८ हजार ८ सय ३५ रुपैयाँ, एकीकृत सम्पत्ति कर १ लाख ९३ हजार २१ रुपैयाँ र व्यक्तिगत घटना दर्ता विलम्ब दस्तुर ४७ हजार ३ सय ६० रुपैयाँ संकलन भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !