भारतीयले लिपुखोलाको काठेपुल हटाए

0
1006
फाइल फोटोः कौवा क्षेत्र

दार्चुला, असार ६ गते ।
व्यास गाउँपालिका वडा नम्बर १ को कौवाक्षेत्रमा लिपुखोलामाथि राखिएको काठेपुल हटाइएको छ । विगतदेखि गुञ्जीक्षेत्रका वासिन्दा र भारतीय सुरक्षाकर्मीले लिपुखोला तरेर नेपालको कौवाक्षेत्रबाट काठ लग्दैआएका छन् । यसपटक भने गुञ्जी नजिक लिपुखोलाको काठेपुल हटाइएको छ ।
महाकाली र लिपुखोलाको संगमस्थलबाट करिब ३ सय मिटर उत्तरतर्फ लिपुखोलामा हरेक वर्ष भारतीय पक्षले काठेपुल राख्दैआएको थियो । लिपुखोला तरेर नेपालको तल्लो कौवा र माथिल्लो कौवा क्षेत्रबाट काठ, दाउरा भारतीय नागरिक र सुरक्षाकर्मीले लग्ने गरेका थिए । वैशाख ३१ मा स्थापना भएको सशस्त्र प्रहरीको छाङरु विओपीबाट कौवाक्षेत्रमा नियमित गस्ती गरिएको र त्यसक्षेत्रमा काठेपुल नदेखिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो ।
‘सीमाक्षेत्रमा हाम्रो टोलीले नियमित गस्ती गरिरहेको छ, कौवाक्षेत्रको लिपुखोला र महाकाली नदीमा कतै पनि काठेपुल देखिएन’ उहाँले भन्नुभयो । कौवाक्षेत्रका भारतीय नागरिकको आवतजावत समेत रोकिएको छ । लकडाउनको समयमा व्यासको सितापुल नाका बन्द गरिएको छ । सितापुल बाहेक अन्य स्थानबाट नदी वारपार गर्न सकिने अवस्था नभएको सशस्त्र प्रहरीको भनाई छ ।
गुञ्जीका वासिन्दा र सुरक्षाकर्मीले समेत नेपालको कौवाक्षेत्रमा हरेक वर्ष वन विनाश गर्दैआएको छाङरुका एक स्थानीयले बताए । ‘परम्परादेखि कौवाक्षेत्र गुञ्जीका वासिन्दाको चलनभोग गर्ने ठाउँ हो, त्यसक्षेत्रमा खेतीपाति नगरे पनि काठ र दाउरा लग्ने गर्दछन्’ नाम उल्लेख नगर्ने शर्तमा ती स्थानीयले भने ।
‘यसपटक भने गुञ्जीनजिक लिपुखोलामा राखिने काठेपुल हटाइएको छ’ व्यासक्षेत्रकै अर्का वासिन्दाले भने, ‘सशस्त्र प्रहरीको गस्ती नियमित हुन थालेपछि कौवाक्षेत्रको वनजंगल जोगिने आश छ ।’ आफ्नो नाम सार्वजनिक गरिदा गुञ्जी र गव्र्याङका वासिन्दासंगको सम्बन्ध बिग्रिने उहाँको भनाई छ ।
गुञ्जीको फेदमा लिम्पियाधुराबाट बगिआएको महाकाली र लिपुलेक कालापानी क्षेत्रबाट बगिआएको लिपुखोलाको दोभान छ । भारतले लिपुखोलालाई महाकाली नदी भन्दैआएको छ । भारत आफैले एकतर्फी मान्दै आएको नक्कली महाकाली (लिपुखोला) को मुहानमा समेत अतिक्रमण गरेको छ ।
सार्वजनिक रुपमा व्यासक्षेत्रका वासिन्दाले सिमाक्षेत्रमा भइरहेको अवैध गतिविधिबारे भन्न सक्दैनन् । भारतीय बाटो भएर आवतजावत गर्नुपर्ने र भारतबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भएकोले खुलेर कुरा गर्न व्यासका स्थानीयले अप्ठेरो मान्ने गरेको पत्रकार शंकर सिंह धामीको भनाई छ । ‘व्यासका वासिन्दा खुलेर धेरै खुला भन्न चाहदैनन् र सक्दैनन् पनि’ उहाँले भन्नुभयो, ‘भारतीय निर्भरता र सांस्कृतिक सम्बन्ध भएकोले त्यसक्षेत्रका जनता बाध्यतामा छन्, व्यासका जनताको ठाँउमा म भए पनि त्यस्तै अवस्था हुन्थ्यो ।’
व्यासको छाङरुमा विओपी स्थापना भएपछि सशस्त्र प्रहरीको टोलीले छाङरुभन्दा तलको महाकाली किनारमा पनि गस्ती गर्दैआएको छ । केही दिन अगाडि कुन्तीसाउ क्षेत्रमा काठेपुल लगाएर केही भारतीय नागरिक नेपालको वनक्षेत्रमा प्रवेश गरेको खवर सशस्त्र प्रहरीले पाएको थियो । लगत्तै विओपीबाट सुरक्षाकर्मीको टोली कुन्तीसाउ क्षेत्रमा पठाइएको एक सुरक्षाकर्मीले बताए ।
सशस्त्रको टोलीले महाकाली नदीमा काठेपुल लगाएको भेट्टाएन । कुनै भारतीय नागरिकलाई पनि नभेटाएको ती सुरक्षाकर्मीको भनाई छ । बुँदी, कुन्तीसाउ र दिपाङकाङ क्षेत्रमा व्यासको सशस्त्र प्रहरीले निगरानी गरिरहेको सुरक्षा स्रोतले बतायो ।