भारतले लिम्पियाधुरा नजिक सडक पुगायो

0
1119
लिम्पियाधुराबाट करिब १४ किलोमिटर तल जोलिङकाङमा रहेको पावर्ती कुण्ड अर्थात आदी कैलाश

साउन २ गते, दार्चुला ।
भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक सम्म सडक विस्तार पश्चात लिम्पियाधुरा क्षेत्र नजिक पनि सडक पुगाएको छ ।
लिम्पियाधुराबाट बग्ने महाकाली नदी र कालापानी बाट बगेको लिपुखोला (जसलाई भारतले महाकाली भन्दै आएको छ ) को संगम गुञ्जी दोभानबाट लिपुलेक र कालापानी क्षेत्र उत्तरपुर्बी क्षेत्रमा पर्दछ भने लिम्पियाधुरा क्षेत्र पश्चिमोत्तर क्षेत्रमा पर्दछ ।
गुञ्जीबाट कालापानी ९ किलोमिटर, लिपुलेक १८ किलोमिट र लिम्पियाधुरा क्षेत्र करिब ४५ किलोमिटर टाढा रहेको छ ।

गत बैशाख २६ गते लिपुलेक क्षेत्रको सडकको उद्धघाटन गरेको भारतले लिम्पियाधुरा क्षेत्र भन्दा करिब १४ किलोमिटर तल जोलिङकाङमा सडक पुगाएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

बोर्डर रोड अर्गनाईजेसन( बिआरओ) ले गुञ्जीबाट कुटी हुदै जोलिङकाङ सम्म ३४ किलोमिटर सडकको निर्माणकार्य सम्पन्न गरेको स्रोतले जनाएको छ ।
सडक काट्ने काम पुरा भएको भएपनि नदीपर्ने क्षेत्रमा पुल बनाउन बाकि रहेको बताइएको छ ।
जोलिङकाङ क्षेत्रमा नै पावर्ती कुण्ड र गौरी कुण्ड रहेकाले आदी कैलाशका नाममा भारतका हिन्दुहरुले त्यसको भ्रमण गर्दै आइरहेका छन् । गुञ्जीबाट हिडेर वा घोडाबाट २ दिन लाग्ने जोलिङकाङ वा आदी कैलाश क्षेत्रमा सडकबाट डेढ घण्टामा नै पुग्न सकिने बताइएको छ ।
भारतले त्यस क्षेत्रमा सडक विस्तार गर्नु आदी कैलाशको लागी मात्रै नभई लिम्पियाधुरा सिमा सम्म सडक विस्तार गरेर चीनको निगरानी गर्नु रहेको छ ।
भारतले लिम्पियाधुरा क्षेत्र सम्मको सडक विस्तारका लागी कुटीको घट्टेखोलामा पुलको निर्माण गरिरहेको र लिम्पियाधुरा बाट आउने महाकाली नदी ( जसलाई भारतले कुटियाङती नदी भन्ने गरेको छ ) बाट पारि सडक रहेकाले महाकाली नदीमा पनि पुल निर्माण गर्ने तयारी भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।