अतिक्रमित नेपाली भूमिमा वर्षैपिच्छे आउछ विपद

928

दार्चुला, साउन ४ गते ।
अतिक्रमित नेपाली भूमिमा वर्षैपिच्छे विपद आउने गरेको छ । उच्च हिमाली क्षेत्र र कमजोर भूबनोटका कारण अनपेक्षित रुपमा प्राकृतिक विपदका घटना हुने गरेका छन् । लिम्पियाधुरादेखि गुञ्जीसम्मको महाकाली नदी किनारमा तीन वर्षदेखि वर्षैपिच्छे प्राकृतिक विपद आइरहेको छ ।
असार २५ गते मंगलवार नाभी र कुटी गाउँको बीचमा बादल फाट्दा २ किलोमिटर लामो सडक ध्वस्त भएको छ । महाकाली नदीको पूर्वी किनारमा बनाइएको सडकको भग्नावषेश समेत छैन । महाकाली नदीपूर्वको पार्वतीमुटुक हिमालय नजिकबाट ठूलो चट्टान फुटेर महाकालीसम्म पुगेको छ ।
प्राकृतिक प्रलयले ठूलो भौतिक क्षति गरे पनि कुनै मानवीय क्षति भएको छैन । रातीको समयमा घटना भएको स्थानीयले बताएका छन् । बादल फाटेपछि महाकाली नदीमा भीषण वाढी आएको थियो । नदी किनारको क्षेत्रको २ किलोमिटर सडक बगेको छ । नदी किनारमा पैदल हिड्ने बाटो समेत छैन ।
त्यसक्षेत्रमा सडक पुरिनुका साथै महाकाली किनारको दुबैतर्फको भाग क्षतिग्रस्त भएको खवर छ । गुञ्जी र नाभीदेखि कुटीसम्मको पैदल सम्पर्कसमेत अवरुद्ध भएको स्रोतले बतायो । त्यसक्षेत्रमा पैदल बाटो बनाउन समेत एक महिना लाग्ने अनुमान छ ।
गतवर्षको भदौ महिनामा कुटी गाउँको मध्यभागमा पहिरो गएको थियो । कुटी वस्तीको छेउमै रहेको सानो घट्टेखोलामा एक्कासी पहिरो गएपछि कुटी गाउँको खेत दुई भागमा बाँडिएको छ । भदौको महिनामा घाम परिरहेको समयमा उक्त पहिरो गएको थियो । पहिरोको खतरा नभएको ठाउँमा यति ठूलो पहिरो कसरी गयो भनेर स्थानीयवासी नै अचम्मित रहेको एक स्थानीयले बताए । भदौको महिना घाम लागेको बेला पहिरो जादा धेरैजसो अचम्मित बनेका छन् ।

कुटी गाउँको पहिरोले दुइटा पानीघट्ट पुरेको थियो । गाउँको शिरानबाट गएको पहिरो महाकाली नदीसम्म पुगेको छ । स्थानीयले कल्पना समेत नगरेको पहिरो गएपछि धेरैलाई अचम्म लागेको छ । कुटी गाउँका घरहरुको उत्तरी किनारा भएर पहिरो गएको छ । पहिरोले कुटी वस्तीको स्वरुपमै परिवर्तन भएको छ । पुरानो कुटी गाउँको फोटो र पछिल्लो फोटोमा पहिरोको अवस्था स्पष्ट देखिन्छ ।

गुञ्जी र नाभी गाउँको बीचको नाम्पा क्षेत्रमा २०७५ वैशाख महिनामा वाढी आएको थियो । महाकाली नदीमा मिसिने सानो खोलामा वाढी आउदा सडक र कलभर्ड बगाएको थियो । महाकाली नदीको पूर्वतिरबाट आउने खोला महाकालीमा मिसिन्छ ।

उक्त खोलामा आएको वाढीले दुई वर्षअघि क्षति गरेपछि तत्काल काठेपुल लगाएर आवतजावत सुचारु गरिएको थियो । हाल उक्त क्षेत्रमा सिमा सडक संगठनले सडक बनाइसकेको छ ।
महाकाली नदीको मुहान नजिक र नदी किनारको क्षेत्रमा समय समयमा प्राकृतिक विपद्का घटना भइरहेका छन् । कमजोर भूबनोट र उच्च हिमालय क्षेत्र भएकाले यस्ता विपद्का घटना भइरहेको धेरैको बुझाइ छ । अध्यात्ममा विश्वास गर्नेहरु भने आदि शक्ति महाकालीको मुहान नै लुकाउन खोजेपछि कालीले बेलामौकामा रौद्ररुप लिएको बताउँछन् ।
भारतले त्यसक्षेत्रमा सडक निर्माण गर्दा वातावरणीय संरक्षणलाई ध्यान नदिदा यस्ता प्राकृतिक प्रलयका घटना भइरहेको एकथरीको बुझाइ छ । ठूल्ठूला मेसिन र जिलेटिनको प्रयोग गरी सडक निर्माण गरिदा विपदको जोखिम बढिरहेको छ ।
भारतले लिम्पियाधुरामा रहेको महाकाली मुहानलाई लुकाउदै आएको छ । त्यसक्षेत्रलाई सैनिक घेरा हालेर लिपुखोलाको कालापानीस्थित सानो खोलालाई महाकालीको मुहान बताउदै आएको छ । यद्यपि यो नक्कली महाकाली मुहानसम्म पनि नेपाली नागरिक र सुरक्षाकर्मीलाई जान दिइएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !