भारतले धौलीगंगाको बाँध पुनः खोल्दै,सर्तक रहन प्रशासनको आग्रह

0
173

दार्चुला,भाद्र १५ गते ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुन खोलिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार एक सूचना निकालेर आउँदो सोमबार विहान ८ बजे धौलीगङ्गाको बाँधका ढोका खुल्ने जानकारी गराएको हो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार भाद्र १८ गते विहान ८ बजेदेखि १९ गते विहान ८ बजेसम्म सिल्ट फ्लसिङ र सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताएका छन् ।
बाँधका ढोका खुल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ ।
यसअघि सिफ्ट फ्लशिंगको कार्य गरिने भन्दै असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो र साउन ३१ गते तेस्रो पटक बाँधका ढोका खोलेको थियो । पछिल्लो समय भारतीय प्रशासनले नेपाली प्रशासनलाई पूर्व सुचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ । नेपालतर्फ मात्रै नभइ नदी किनारका भारतीय बस्ती समेत उच्च जोखिममा रहेकाले भारतीय पक्षले बाधको पानी विस्तारै छोड्ने गरेको छ ।
दार्चुला र धार्चुलाबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा भारतले धौलीगंगा नदीमा जलविद्युत उत्पादनका लागि बनाएको बाँध बाट २ सय ८० मेगावाट विधुत् उत्पादन हुँदै आएको छ । धौलीगंगा र महाकाली नदीको संगम तावाघाटको नेपाल भारत सीमाबाट ६ किलोमिटर टाढा रहेको ५६ मिटर अग्लो र ३ सय १५ मिटर लामो यो नियन्त्रण ढोकायुक्त बाँध हो । बाँधले छेकिएको पानी ७० मिटरसम्म गहिरो छ ।
वि.सं २०७० सालमा बिना सुचना धौलीगंगाको बाँध खोलिएपछि महाकाली नदीमा बाढी आएर दार्चुला सरमुकामका सयौँ घरबार तथा दर्जन सरकारी कार्यालय बगाउँदा अर्बौको क्षति भएको थियो ।