बिहेका लागि राती खुलेको सीमापुलमा चरेस तार्दा भारतको जेल पुगिन दुँहुकी महिला 

0
576
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, फागुन १२ गते । 


दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलबाट एक जना नेपाली महिलालाई भारतीय एसएसबीले चरेस सहित पक्राउ गरेको छ । 

दुँहु गाउँपालिका वडा नं २ हिकिला घर भएकि लगभग ४० बर्सकी सरिता बडाललाई आइतबार २ सय ७० ग्राम लागूऔषध चरेस सहित पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । 

खलंगामा रहेको सीमापुल प्रत्येक दिन विहान ७ बजे खुल्ने र बेलुका ५ बजे बन्द हुन्छ । तर फागुन ७ गते साझँ साढे सात बजे बिहेका लागि सीमापुल खोलिएको थियो । विहेका लागि खोलिएको सीमापुलमा चरेश लगेर भारत प्रवेश गर्न लागेकी बडाललार्ई भारतीय एसएसबीले चेकजाँच गर्दा चरेश फेला परेको थियो ।
नेपाली महिला भारतमा चरेस सहित पक्राउ परेको जानकारी दोस्रो दिन बेलुका भारतीय पक्षले नेपाली सुरक्षा निकायलाई दिएको पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक भरत बहादुर बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेकी महिलालाई भारतीय अदालतको आदेशमा डीडीहाट जेलमा राखिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।