प्रधान सेनापति र सशस्त्र प्रहरी प्रमुख ५ घण्टा दार्चुलामा

0
848

दार्चुला, असार ३ गते ।
प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बुधवार दार्चुलाको सीमाक्षेत्रमा भ्रमण गरेका छन् । दार्चुला सदरमुकामका साथै व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगड र वडा नम्बर १ व्यासको छाङरु क्षेत्रमा निरीक्षण भ्रमण गरिएको हो ।
दुबै सुरक्षा संगठनका प्रमुख चढेको सेनाको हेलिकोप्टर बुधवार विहान साढे १० बजे खलंगा पुगेको थियो । खलंगामा विश्राम नगरी केही मिनेटमै हेलिकोप्टर व्यासतर्फ गएको जिल्लास्थित सुरक्षा स्रोतले बतायो । ‘हेलिकोप्टर बन्द नगरिकन केही सामग्री हाल्ने र निकाल्ने काम भयो, दुई तिन मिनेटमै व्यासतर्फ हेलिकोप्टर उडिहाल्यो’ स्रोतको भनाई छ ।
एनए ०३८ कलसाइन भएको नेपाली सेनाको हेलिकोप्टरमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी उत्तमराज सुवेदी र अन्य सुरक्षा अधिकारी पनि थिए । व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको घाटिबगड क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको पैदल बाटोको निरीक्षण गरिएको छ । घाटिबगडको महाकाली किनारमै हेलिकोप्टर ल्याण्ड गरिएको थियो । बाटो खोल्न प्रयोग गरिने मेसिन ढुवानी गर्दा पनि यसअघि सेनाको हेलिकोप्टर घाटिबगडको महाकाली किनारमा उतारिएको थियो ।
व्यास जोड्ने पैदलबाटो भत्किएपछि जेठ ८ गतेदेखि नेपाली सेनाले चट्टान फुटाएर बाटो निर्माण गरिरहेको छ । पैदल बाटो निर्माणमा नेपाली सेनाको इन्जिनियरिङ विभागअन्तर्गतको टोली परिचालन गरिएको छ । सेनानीको नेतृत्वको ४० जनाभन्दा बढी सुरक्षाकर्मी र केही दक्ष कामदारमार्फत बाटो निर्माणको कार्य भइरहेको छ । करिब ४ सय ५० मिटर लामो चट्टान फुटाएर बाटो निर्माण गर्ने लक्ष्य छ । हालसम्म करिब १ सय २० मिटर बाटो खुलाइएको सुरक्षा अधिकारी बताउँछन् । करिब आधा घण्टाको स्थलगत निरीक्षणपछि सुरक्षा प्रमुखहरुको टोली घाटिबगडबाट छाङरुतर्फ गएको थियो ।
छाङरुको सितापुल नजिकैको तिफुलच्याक्ती चौरमा नेपाली सेनाको हेलिकोप्टर ल्याण्ड गरिएको थियो । यसअघि छाङरु गाउँनजिकको खेतवारीमा हेलिकोप्टर ल्याण्ड हुने गरिएकोमा पछिल्लो समय स्थानीयवासीले खेतीपाती लगाएपछि सितापुल नजिकको चौरमा ल्याण्ड गरिएको हो । सितापुलमा महाकाली नदीमाथि नेपाल र भारत जोड्ने काठेपुल राखिएको छ । महाकालीको किनारमै हेलिकोप्टर ल्याण्ड गरी सिमाक्षेत्रको भूगोल र वस्तुस्थितिबारे सुरक्षा प्रमुखहरुले जानकारी लिएको स्रोतले बतायो ।
घाटिबगड र छाङरु क्षेत्रबाट दुई घण्टापछि साढे १२ बजे हेलिकोप्टर खलंगा फर्किएको थियो । खलंगास्थित नेपाली सेनाको ब्यारेकमा ल्याण्ड भएको हेलिकोप्टरबाट उत्रिएलगत्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका डिआइजी उत्तमराज सुवेदी सशस्त्र प्रहरी गुल्मको भवन उद्घाटनमा पुगेका थिए । प्रधान सेनापति पूर्णचन्द्र थापा र सेनाका अधिकारीहरुले भने नेपाली सेनाको दुर्गादल गुल्मको निरीक्षण गरेका छन् ।
करिब ४५ मिनेटको भवन उद्घाटन कार्यक्रम सकेर महानिरीक्षक खनाल र सुरक्षा अधिकारीहरु सेनाको व्यारेक फर्किएका थिए । ब्यारेकभित्र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरिएको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्था, सीमाक्षेत्रको सुरक्षा अवस्था, भावी योजना लगायतका बारेमा एक घण्टासम्म छलफल गरिएको स्रोत भनाई छ ।
सुरक्षा प्रमुखहरुको भ्रमण टोलीमा सुदूरपश्चिम पृतनापति निर्मल कुमार थापा, नेपाली सेनाको इन्जिनियरिङ विभाग प्रमुख उपरथी र सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख डिआइजी हरिशंकर बुढाथोकी सहभागी थिए । व्यासक्षेत्रको भ्रमणमा नेपाली सेनाको दार्चुलास्थित दुर्गादल गुल्मका गुल्मपति श्यामराजा विक्रम थापा पनि सहभागी थिए ।
भ्रमण टोलीका सदस्यहरुले सेनाको व्यारेकभित्रै खाना खाएका थिए । प्रधान सेनापति थापा र महानिरीक्षक खनाल अपरान्ह सवा ३ बजे हेलिकोप्टरमार्फत दार्चुलाबाट फर्किएका छन् । बुधवार साँझ धनगढीमै बसेर विहिवार राजधानी फर्किने समयतालिका छ ।