सिडियोको सट्टा टेलिकम प्रमुखलाई हेलिकोप्टर सेवा

1287

दार्चुला, असार ३ गते ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बुधवार आफ्नो कोटामा टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङलाई हेलिकोप्टर चढाएका छन् । प्रधान सेनापति र सशस्त्र प्रहरीका महानिरीक्षक चढेको हेलिकोप्टरमा व्यासको टेलिकम टावर मर्मत गर्न गुरुङलाई पठाइएको हो ।
सुरक्षा प्रमुखको जिल्ला भ्रमण हुँदा हेलिकोप्टरमा प्रजिअ पौडेल पनि संगै व्यास जाने तालिका थियो । तर व्यासमा तत्काल टेलिकम टावर सञ्चालनमा ल्याउनुपर्ने भएकोले आफ्नो ठाँउमा टेलिकम प्रमुखलाई पठाएको पौडेलले बताउनुभयो ।
‘व्यासमा विओपी स्थापना गरिदा मैले त्यहाँको भ्रमण गरेको छुँ, तत्काल टेलिफोन टावर मर्मत गर्नु आवश्यक भएकोले यस्तो गरिएको हो’ प्रजिअ पौडेलले भन्नुभयो । आफुले त्यसक्षेत्रमा पुग्नुभन्दा महत्वपूर्ण मोबाइल सेवा सञ्चालनलाई ठानेको उहाँको भनाई छ ।
अत्यधिक हिमपातले व्यासको टावरमा क्षति पुगेको छ । व्यासक्षेत्रका वासिन्दा जेठ पहिलो साता खलंगाबाट थाकथलो फर्किएका छन् । यसअघि वैशाख ३१ मा हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली व्यासमा पठाइएको थियो ।

टेलिकमको मर्मत सामानसहित प्राविधिकलाई व्यास पुग्न समस्या थियो । नेपालतर्फ पैदल बाटो क्षतिग्रस्त छ भने भारतबाट व्यास जानलाई लकडाउनले सीमानाका बन्द छ । तीन हप्ताअघि टावर मर्मतको सामान खलंगामा पुगे पनि बाटो अभावमा व्यासक्षेत्र जान नसकेको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो ।
दार्चुला जिल्ला प्रशासनले एक हप्तादेखि भारतीय प्रशासनसंग खलंगाको नाका खुलाएर टावर मर्मतको सामान र प्राविधिक पठाउने प्रयास गरेको थियो । तर भारतीय प्रशासनबाट सहमति प्राप्त नहुदा ढिलाइ भएको थियो ।
बुधवार भएका सुरक्षा प्रमुखहरुको भ्रमणसंगै टावर मर्मतको कार्यलाई महत्व दिएर सामान र प्राविधिक व्यास पठाइएको प्रजिअ यदुनाथ पौडेलको भनाई छ । मोबाइल सेवा नहुँदा व्यासक्षेत्रका स्थानीय र सुरक्षाकर्मीलाई समस्या भएको छ । व्यासमा रहेको सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको चौकीले सञ्चार सेटमार्फत माथिल्लो निकायमा सम्पर्क गर्दैआएका छन् ।
सोमबारदेखि व्यासको छाङरुमा इन्टरनेट सेवा पनि सुचारु भएको छ । भायनेट प्रालिले सेवा सञ्चालनमा ल्याएको हो । इन्टरनेट सुविधा भए पनि मोबाइल सेवा भने टावर मर्मतको अभावमा सञ्चालन हुन सकेको छैन ।

छाङरु गाउँबाट दुई घण्टाको पैदल दूरीमा रहेको मोबाइल टावर विहिवार मर्मत गरिने टेलिकम दार्चुलाका कर्मचारी दुर्गा बस्यालले बताउनुभयो । टावरको सोलार प्रणाली र लिंक रिसिभरमा क्षति भएको छ ।
टावर सञ्चालनका लागि आवश्यक पर्ने सम्भावित उपकरण टेलिकम प्रमुख गुरुङले संगै बोकेका छन् । सेनाको हेलिकोप्टरमै झण्डै २५ किलो वजन रहेको टावरका उपकरण पनि व्यास पुर्याइएको छ ।
टावर सञ्चालनमा आएपछि व्यासको छाङरु र तिंकर गाउँमा स्काई मोबाइल सेवा उपलब्ध हुनेछ । व्यासको टावरबाट भारतीय नागरिक र सुरक्षाकर्मीलाई पनि मोबाइल सेवा पुग्ने गर्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !