पिथौरागढ लगायत उत्तराखण्ड प्रदेशका जिल्लाहरुमा कोरोना खोप लगाइदै

0
751

दार्चुला, माघ १ गते । भारतको पिथौरागढ जिल्ला लगायत उत्तराखण्ड प्रदेशका जिल्लाहरुमा जनवरी १६ अर्थात माघ ३ गते देखी कोरोना खोप लगाइदैछ ।उत्तराखण्ड प्रदेशका प्रत्येक जिल्लाहरुको सदरमुकाममा कोविशिल्ड नामको कोरोना भ्याक्सीन पुगाउन थालिएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । भारत सरकारले तोकेको मापदण्ड पालान गरि प्रत्येक जिल्ला सदरमुकामहरुमा कोरोना खोप ढुवानी भइरहेको बताइएको छ । उत्तराखण्ड राज्यमा १६ जनवरी २०२१ देखि नागरिकहरुलाई कोरोना खोप दिन सुरु हुनेछ । जसका लागि बुधबार नै उत्तराखण्डको राजधानी देहरादुनमा कोविशील्य भ्याक्सीनको १ दशमलब १३ लाख खोप पुगाइएको थियो । स्वास्थ्य विभागले १५ जनवरी सम्म राज्यका सबै खोप बुथहरुमा भ्याक्सीन उपलब्ध गराउने लक्ष्य राखेको छ । कोरोना खोपको पहिलो चरणमा उत्तराखण्ड राज्य भरिका ४३ खोप बुथहरुमा खोप लगाइनेछ । पहिलो चरणका लागि राज्यका ८७ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ । प्रदेशको बढी जनसंख्या भएका जिल्लाहरु देहरादुन, हरिद्धार, युएस नगर र नैनीतालमा चार बुथहरुबाट कोरोना खोप लगाइनेछ भने अन्य जिल्लामा दुई या तीन बुथहरुबाट खोप लगाइनेछ । राज्यभरी कोरोना खोप लगाउने तयारी पुरा भएको र एक, दुई दिन भित्र प्रत्येक खोपबुथहरुमा भ्याक्सीन पुगाइने नोडेल अधिकारी सोनीकाले हिन्दुस्तान दैनिकलाई जानकारी दिनुभएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई खोप लगाई सकेपछि दोस्रो चरणमा प्रहरी, कोरोना संक्रमितहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सरसफाई कर्मचारीहरुलाई खोप लगाइनेछ । केन्द्र सरकारले चरणबद्ध तरिकाले खोप लगाउने अभियान सुरु गरेको तथा खोप अभियानमा सरिक हुन सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण र निर्देशन दिइएको स्वास्थ्य विभागका सचिव अमित नेगीले बताएका छन् ।

उत्तराखण्डका कुन जिल्लामा कति खोप ?

पिथौरागढ जिल्लामा ५ हजार ८ सय २० कोभिशील्ड भ्याक्सीनको डोज वितरण गरिने बताइएको छ । त्यसैगरि अल्मोडामा ६ हजार ९ सय ७०, बागेश्वरमा ३ हजार ३ सय २०, चमोलीमा ४ हजार ८ सय ८०, चम्पावतमा २ हजार ६ सय १०, देहरादुनमा २८ हजार ९ सय २० तथा हरिद्धारमा १८ हजार ५० डोज खोप वितरण गरिनेछ । त्यसैगरि नैनीतालमा १२ हजार १०, पौडीमा ७ हजार ६ सय ७०, रुद्रप्रयागमा २ हजार ५ सय ८०, टिहरीमा ७ हजार १ सय ६०, युएसनगरमा ८ हजार ६ सय ८० र उत्तरकाशी जिल्लामा ३ हजार ९ सय ५० डोज खोप वितरण गरिने बताइएको छ ।