पत्रकार धामीको स्वतन्त्र उम्मेदवारीले दार्चुला प्रदेश ‘क’ मा तरंग

0
472

दार्चुला,असोज २५ गते ।
विगत २ दशक देखि लागातार सिमाका बारेमा कलम चलाउदै आएका पत्रकार शंकरसिंह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गरे संगै अन्य दलमा तरंग पैदा भएको छ । मुख्यगरी सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीमा पत्रकार धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि तरंग पैदा भएको एमालेका एक नेताले बताउनुभयो । धामीले शिर्ष दललाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसका कारण दार्चुलाका दलहरुमा तरंग पैदा भएको छ । यस भन्दा अगाडी कुनै पनि राजनैतिक पार्टीको कुनै पदमा समेत नरहेका धामीले निस्वार्थ रुपमा दललाई सहयोग गरिरहे । तर दलका नेताले कयौँ युवालाई झिनो आश्वासनमा प्रयोग मात्र गर्ने गरेकाले अब परिवर्तन आफैले गर्नु पर्छ भन्ने उदेश्यका साथ चुनावी माहोलमा होमिएका छन् । पत्रकारको रूपमा चिनिने धामी सामाजिक अभियन्ता समेत हुन् । स्वतन्त्र उम्मेदवारी दिएका पत्रकार शंकर सिंह धामीको जन्म वि सं २०४० जेठ ४ गते मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मा भएको थियो । आइए पत्रकारिता, विए एमए समाजशास्त्रमा अध्ययन गरेका धामी वि सं २०६१ सालदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । नेपाल पत्रकार महासंघ दार्चुला शाखाको संस्थापक समेत रहेका धामी वि सं २०६४ सालमा दार्चुला तयारी शाखाको संयोजक समेत रहेका थिए । वि सं २०७० देखि २०७७ सम्म पत्रकार महासंघ दार्चुलाको अध्यक्ष सम्हालेका धामी प्रेस चौतारी नेपाल दार्चुलाको संस्थापक तर हालसम्म चौतारीको कुनै पनि जिम्मेवारीमा बसेका छैनन । डेढ दशकदेखि उपभोक्ता अधिकारको क्षेत्रमा क्रियासिल रहेका उनी पवित्र महाकाली स्वच्छता अभियानको संयोजक समेत रहेका छन् । वि सं २०६३ सालमा स्थापित प्रेम सिंह धामी स्मृति प्रतिष्ठानको संस्थापकमध्ये एक पात्र हुन् । शंकर सिंह धामीकै पहल र सक्रियतामा देशको राष्ट्रिय धाम तथा मालिकार्जुनको पुण्यभूमिमा देशभक्त नेता स्वर्गीय प्रेम सिंह धामीको सालिक स्थापना भएका छन् । उहाँकै सक्रियतामा प्रेम सिंह धामी स्मृति प्रतिष्ठानले यो वर्षको सुरूवातीमा व्यास गाउँपालिका वडा नम्वर १ छाङरूको गागामा देशभक्त नेताहरू प्रेम सिंह धामी, वहादुर सिंह ऐतवाल र गोपाल सिंह बोहराका अर्धकदका सालिक राखिएका छन् । तिनवर्षदेखि आफ्ना दुबै सन्तान छोरा र छोरी खलंगास्थित सरकारी विद्यालय कैलाशपति आधारभूत विद्यालय छाङरूमा पढाउदै आएको उहाँले बताउनु भयो । राजनीतिमा युवा पुस्ताको आवश्यकता महशुस गर्दै युवा पुस्ताको साथ र सहयोगमा आफूले उम्मेदवारी दिएको उनले बताए । कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको हुँदा अब आफै उम्मेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा आफ्नो जीवन समर्पण गर्न चाहेको धामीले बताएका छन् । राजनीतिलाई नेताहरुले पेशा बनाएका र आफुले सुरु गर्ने अबको स्वतन्त्र बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाज सेवाको रुपमा स्थापित गर्ने आफ्नो अठोट रहेको उनले बताएका छन् । साथै प्रचारप्रसार अभियान भरी रक्सी र मासुको प्रयोग हुने छैन । शुद्ध शाकाहारी अभियन्ताहरू मात्रै प्रचारप्रसारमा खटिने उहाँको भनाई छ । उहाँले भन्नु भयो हामी मतदातासंग झुटो बोलेर, खोक्रा आश्वासन बाँडेर भोट माग्दैनौं । जे भन्छौ त्यो गर्नेछौं । झुट, छलकपट, जालझेल र बेइमानीबाट हाम्रो उम्मेदवारी टाढा रहने उनले बताउनु भयो । राजनीतिलाई पेशा होईन कि समाजसेवा बनाउनु पर्ने मान्यता धामीको रहेको छ । सोहि अनुसार आगामी दिनमा निरन्तर आफूले समाजको लागि समाजमै काम गर्ने उनले बताउनु भयो । ५ दलिय गठबन्धनमा साझा उम्मेदवार पनि प्रदेश सभा १ क्षेत्रमा मतादाता नामावली नाम नभएका नेताको उम्मेदवारी परेपछि मतदातामा असन्तुष्ट रहेको उनले बताउनुभयो । महाकाली नगरपालिका वडानम्बर ३ का स्थानियबासी एवं समाजसेवी महेशराज भट्टले भने दलहरुले सधै ठगेर मात्रै भोट मागिरहेकोले यसपाली हरेक मतदाताले स्वतन्त्र उम्मेदवारमा मतदान गर्ने विश्वास गरेका छन् । नेताहरुले सधै ठगेर भोट मागे यसपाली ठग्न नपाईने भट्टको भनाई रहेको छ । चुनावी प्रचारप्रसार अभियानको थालनी असोज २७ गते विहान ११ बजे मालिकार्जुन राष्ट्रिय धामबाट सुरू हुने बताइएको छ ।