नौगाडमा एमालेको वृहत चुनावी आमसभा 

0
575

दार्चुला, चैत्र १४ गते । 
नेकपा एमालेको चुनावी अभियान अन्र्तगत सोमबार नौगाड गाउँपालिकाको होपरीगाडमा आमसभाको आयोजना गरिएको छ । वृहत चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गरि ३३ जनाले नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव शेरसिह धामीले जानकारी दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको जिल्ला कमिटी सचिव धामीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाले नेकपा एमालेको सरकारले प्रत्येक पालिकामा प्राविधिक शिक्षा अनिवार्य गर्ने लक्ष्यका साथ प्राविधिक धारका कक्षा सञ्चालन गरेको बताउनुभयो । गाउँमै प्राविधिक कक्षा सञ्चालन भएपछि गरिब जनताका बालबालिकाले सजिलै संग अध्ययन गर्न पाउनु गौरवको विषयको उहाँको भनाई छ ।
साथै उहाँले नेपालमा विचारविहीन राजनीतिक दल धेरै दिन नटिक्ने बताउनुभयो । हाम्रो देशमा विचारविहीन दल धेरै दिन टिक्न नसक्ने हुँदा सबैले नेकपा एमालेको विचारमा समाहित हुनुको विकल्प नरहेको उहाँको भनाई छ ।
नेकपा एमालेले सबैलाई समेट्ने गरेको र अन्य दल कार्यकर्ता मुखी मात्रै रहेकोले नेपालमा अन्य दलको भविष्य शून्य रहेको पूर्वमन्त्री ठगुन्नाले भन्नुभयो ।
नेकपा एमालेको सरकार हुँदा मात्रै देशले विकासको फड्को मार्ने तर अन्य दल सत्तामा पुग्दा सधै कार्यकर्तामुखी बजेट विनियोजन गर्ने गरेकोले यस्ता दलबाट जनताले धेरै अपेक्षा नगर्नु स्वभाविक भएको बताउनुभयो ।
अर्को प्रसङ्गमा बोल्दै पूर्वमन्त्री  ठगुन्नाले जिल्लाको विकासका लागि नेपाली कांग्रेस पार्टीको योगदान के छ भनी प्रश्न समेत गरेका छन् ।
पटक पटक कांग्रेस सरकारमा गएको भएता पनि जनताको पक्षमा भएको कुनै पनि कार्यक्रम देखाउन चुनौती समेत दिएका छन् । नेकपा एमालेकै सरकारले दुर्गम क्षेत्रका गर्भवती महिलालाई जटिल समस्या परे हवाई सेवा मार्फत उद्धार गर्ने कार्यक्रम समेत ल्याएको स्मरण गराएका छन् ।
आगामी दिनमा पनि जनताको पक्षमा नेकपा एमाले वाहेक अन्य दलले केही गर्न नसक्ने हुँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका मतदाताहरुले समेत नेकपा एमालेको अभियानमा लाग्न अनुरोध गरेका छन् ।
नेकपा एमाले नौगाड गाउँपालिका स्तरीय कमिटी अध्यक्ष जनकसिह ठगुन्नाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्ना प्रमुख अतिथि रहेका थिए भने नेकपा एमाले प्रदेश कमिटि सदस्य रामदत्त जोशी , जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामी र जिल्ला कमिटी  उपाध्यक्ष चरनसिह वुढाथोकी विशिष्ट अतिथि रहेका थिए । आमसभामा नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु,गाउँपालिका कमिटि पदाधिकारी एवं सदस्यहरु लगायत वडाकमिटि , टोलकमिटिहरु र नेकपा एमाले निकट हजारौ शुभचिन्तकहरुको सहभागिता रहेको थियो । नेकपा एमालेले भोली दुहु गाउँपालिकामा वृहत चुनावी आमसभा गर्ने जनाएको छ ।