नौगाडमा टुहुरा बालबालिकालाई आधारभुत शिक्षा सुनिश्चितता तथा पालनपोषण व्यवस्थापनमा सहयोग

0
460

दार्चुला चैत्र १४ गते ।
नौगाड गाउँपालिकामा टुहुरा एवं अशक्त बालबालिकाका लागि आधारभुत शिक्षा सुनिश्चितता तथा पालनपोषण व्यवस्थापन कार्यक्रम र भेटेरिनरी प्रयोगशालाको उद्घाटन गरिएको छ । 

सोमबार नौगाड गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यमा दुईटै कार्यक्रमको उद्घाटन गरिएको हो ।
गाउँपालिकाभरी रहेका टुहुरा बालबालिकाहरु गाँसबास, कपास र आधारभुत शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्यले उक्त कार्यक्रम शुभारम्भ गरिएको नौगाड गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभएको छ ।
विशेषगरी आमाबुवा दुवै गुमाएका टुहुरा बालबालिकाहरु मौलिक अधिकारबाट बञ्चित नहुन भन्ने गाउँपालिकाको लक्ष्य अनुरूप टुहुरा बालबालिकाहरुलाई आधारभुत शिक्षा सुनिश्चितता तथा पालनपोषण व्यवस्थापन कार्यक्रम लागु गर्न लागिएको अध्यक्ष धामीले बताउनु भएको छ ।
गाउँपालिकाभरी आमाबुवा दुवै गुमाएका ५४ जना टुहुरा बालबालिका रहेको गाउँपालिकाले जनाएको छ । नौगाड गाउँपालिकाको टुहुरा एवम् अशक्त बालबालिकाका लागि आधारभुत शिक्षा सुनिश्चितता तथा पालनपोषण सम्बन्धी कार्यविधि, २०७८ अनुसार कार्यक्रमको शुभारम्भकै दिन प्रति अशक्त एवं टुहुरा बालबालिकालाई १० हजारका दरले ५४ जना बालबालिकाहरुका संरक्षक एवं अभिभावकलाई रकम उपलब्ध गराएको जनाएको छ ।
कानुनी आधार समेत तयार पारी लगभग ३ वर्ष लामो प्रयास पछि कार्यक्रम शुभारम्भ गर्न सफल भएको नौगाड गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
अशक्त तथा टुहुरा बालबालिकाहरुलाई प्रत्येक वर्ष सहयोग रकम उपलब्ध गराइने कार्यविधिमै राखी सुनिश्चतता गरेकोले शिक्षा र पालनपोषणमा केहि राहत हुने उनको भनाई छ ।
चालु आर्थिक वर्षमा कार्यक्रमको शुभारम्भ गरिएको र आगामी आर्थिक वर्ष देखि शैक्षिक शत्रको सुरुवातमै एवं मासिक रुपमा अभिभावकहरुको वैँक खाता मार्फत रकम भुक्तानी गर्ने प्रबन्ध मिलाइने उहाँले बताउनुभयो ।
त्यस्तै नौगाड गाउँपालिकाले पशु चौपायाहरुमा लाग्ने विभिन्न रोग तथा समस्याहरुको उपचार तथा निवारण गर्न भेटेरिनरी प्रयोगशालाको स्थापना संगै उद्घाटन गरिएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गणेशसिह ठगुन्ना र नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले संयुक्त रुपमा भेटेरिनरी प्रयोगशालाको उद्घाटन गरेको गाउँपालिकाले जनाएको छ ।
पशुहरूमा लाग्ने विभिन्न रोग तथा आइपर्ने समस्याहरूको न्यूनिकरण गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय पशु प्रयोगशाला उद्घाटन गरिएको नौगाड गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रप्रसाद ठगुन्नाले जानकारी दिनुभएको छ ।
पशु प्रयोगशालाको स्थापना सँगै विगतमा सामान्य गोबर परिक्षण गर्नका लागि धनगढी सम्म जानुपर्ने झन्झटको अन्त्य भएको  उहाँले बताउनुभयो । गाउँपालिकामै पशु प्रयोगशाला स्थापना भएपछि कृषकहरू खुसी भएका छन् ।