नेपाल–भारत सीमा समन्वय बैठक पिथौरागढमा सम्पन्न,के–के भयो सहमति ?

0
292

दार्चुला,असार ३० गते ।
नेपाल र भारतका अधिकारीहरु सम्मिलित समन्वय बैठक भारतको पिथौरागढमा शुक्रबार सम्पन्न भएको छ । बैठकमा दुबै देशका स्थानिय अधिकारीहरु बीच सीमा क्षेत्रमा भएका समस्या समाधान गर्न सहमति भएको छ । सीमा क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदानका लागि सीमा समन्वय बैठक आयोजना गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो । बैठकले नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खंलगास्थित पुलघाट सीमा नाका पुल एक घण्टा अघि खोल्ने सहमति भएको छ । सहमति अनुसार दार्चुला पुल अब विहान ६ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । यसअघि सीमा नाका पुल विहान ७ बजे खोल्ने गरिएको थियो ।
यस्तै बैठकमा विपद्को समयमा दुवै देशका सुरक्षा निकायहरु मिलेर उद्धार तथा अन्य कार्यमा सहकार्य गर्ने सहमति समेत भएको छ । बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव तस्करी,वन्यजन्तु तस्करी लगायतका गैर कानुनी क्रियाकलाप रोक्नका लागि संयुक्त गस्ती गर्ने,आपसी सहयोग र सहकार्य गर्ने सहमति भएको छ । यस्तै महाकाली नदी स्वच्छ राख्नका लागि दुबै देशका तर्फबाट पहल गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन् । भारतको धारचुला बजारको फोहोर महाकाली नदीमा फाल्ने गरिएकोमा त्यसलाई व्यवस्थापन गर्ने र नेपालका तर्फबाट पनि महाकाली नदीमा फोहोर फल्न नदिने सहमति भएको छ । बैठकमा भारतले तटबन्ध निर्माण गर्दा महाकाली नदीमा निर्माण भएको डाइभर्सन नहटाउदा महाकाली नदीको धार नेपाल तिर आएकोले त्यसलाई हटाउनु पर्ने बताएका छन् ।
यस्तै बैठकमा भारतीय अधिकारीहरुले धारचुलामा पानीको अभाव रहेकाले महाकाली नदीबाट लिफ्टिङ गरेर पानीको व्यवस्थापन गर्ने कुरा उठाएको र यो विषयमा केन्द्र सरकारलाई जानकारी गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो । भारतीय मेडिकलहरुबाट लागु औषध र नसालु औषधिहरु नेपालमा विक्रि हुने गुनासो आएकाले त्यसलाई रोक्नका लागि भारतीय पक्षले पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।
यस्तै ब्याँस गाउँपालिकाका विभिन्न वस्तीमा विधुतको समस्या भएकाले जेनेरेटर चलाउन इन्धन ल्याउन दिने विषयमा समेत छलफल भएको छ । यस्तै बैठकमा पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले तहसील धारचुलाको खोतीलामा केही दिन पहिले महाकाली नदीमा पानीको सतह बढ्दा एक घर बगाएकोले लास्कु खोलाबाट आएको ढुङ्गा र माटो हटाउनु पर्ने बताएका छन् । लास्कु खोलाबाट आएको ढुङ्गा माटोले गर्दा खोतिला क्षेत्रमा कटान भइरहेकोले छिटो हटाइ दिन आग्रह गरेका छन् । यस विषयमा नेपालका अधिकारीहरुद्धारा लास्कु खोलाबाट आएको माटो र ढुङगा हटाउने बैठकमा सहमति भएको छ । बैठकमा नेपालको तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी,बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी,जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक तर्क राज पाण्डेय,बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाही,सशस्त्र प्रहरी बल ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख डम्वर बहादुर विष्ट,सशस्त्र प्रहरी बल बैतडीका प्रमुख गंगादत्त पन्तलगायतको सहभागिता रहेको थियो ।
यस्तै भारतका तर्फबाट पिथौरागढ जिल्लाका जिल्ला अधिकारी रीना जोशी,एसपी लोकेश्वर सिंह, उप जिल्लाधिकारी धारचुला दिवेश शाशनी,उप जिल्लाधिकारी पिथौरागढ अनुराग आर्य लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सीमा क्षेत्रमा दुबै देश बीच आपसी सदभाव कायम गर्न र सीमाका साझा समस्याहरु हल गर्न नियमित रुपमा बैठक बस्ने सहमति भएको बताइएको छ ।