भारतले नयाँ बस्ती सडकमा विष्फोट गर्दा नेपालमा क्षति

0
339

दार्चुला,असार ३० गते ।
भारतीय सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा उछिट्टिएको ढुङ्गाले लाग्दा दार्चुलाका तीन घरमा क्षति पुगेको छ । महाकाली नगरपालिका–५ मसिनी बालुवामा भारतीय सडकमा विष्फोट गराएको ढुंगा उछिटिएर नेपालतर्फका घरहरुमा क्षति पुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो ।
नेपालतिर कुनै सूचना नदिइ शुक्रबार दिउँसो भारत पिथौरागढ जिल्लाको धार्चुला तहसिल अन्तर्गतको कालिका ग्रामसभास्थित नयाँ बस्तीमा निर्माण भइरहेको सडकमा विष्फोट गराइएको हो । त्यसक्रममा पारिबाट उछिटिएर आएको ढुंगाहरुले नेपालका मसिनी बालुवाका तीन घरमा क्षति पुगेको हो । सडकमा ब्लास्टिङका क्रममा उछिटिएको ढुंगाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनी बलुवाका तीन घर र गोठमा क्षति भएकोले भारतको डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई घटनाबारे पत्र पठाउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।
बिहीबार र शुक्रबारको ब्लास्टिङले ढुंगा उछिटिएर स्थानीय नरभान दत्त बडूको ढुंगा पाटले छाएको भान्सा घरमा प्वाल पारेको छ भने गोठ चर्किएको छ । यस्तै हरकसिंह ठगुन्नाको पाटले छाएको घर र पानी धारोमा प्वाल परेको छ । सोही बस्तीका जगतसिंह ठगुन्नाको जस्ता पाताको छाना र मेवाका रुखमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे । ब्लास्टिङका कारण स्थानीयका खेतमा समेत ढुंगा थुप्रिएका छन । साना–ठूला ढुंगा खेतमा भेटिएका छन् । भारतीय पक्षले बिना सूचना ब्लास्टिङ गरेको स्थानीयको भनाइ छ । विष्फोट गराएको ठाउँबाट नेपालतर्फको बस्ती करिब दुई सय मिटरको दूरीमा रहेको छ । यस्तै गत कार्तिक ११ गते भारतले तावाघाट–लिपुलेक सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका वडा नम्बर २, दुम्लिङ अरतौलीका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।