महाकाली नगरपालिकाको गासमा ढुङ्गा

0
390

दार्चुला,साउन १ गते ।
जिल्ला अदातल दार्चुलाले अल्पकालीन आदेश जारी गर्दा महाकाली नगरपालिकाले थालेको शिक्षक भर्ना गर्ने गासमा ढुङ्गा लागेको छ ।
सदरमुकाम क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुमा आवश्यक पर्ने विभिन्न विषयका शिक्षकहरु नियुक्त गर्न नगरपालिकाले खोलेको सूचना र त्यसअनुसार तोकिएको परीक्षा सञ्चालन नगर्न अदालतले अल्पकालीन आदेश दिदा यस्तो भएको हो । जिल्ला अदालत दार्चुलाले नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षाको विज्ञापन २०८० लाई कार्यान्वयन नगर्न महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश खेमराज भट्टको एकल इजलासले २०८० असार २४ गते गरेको नगर शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक परिक्षा विज्ञापन २०८० लाई तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालत दार्चुलाका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
निवेदकहरुले अन्तरिम आदेशको माग गरेको देखिदा सो सम्बन्धमा दुबै पक्षहरुलाई राखि छलफल गर्नु मनासीव देखिएकोले सो प्रयोजनको लागि दुवै पक्षहरुलाई छलफलका लागि २०८० साउन ३ गते उपस्थित हुने गरी अदालतबाट आदेश भएको उहाँले बताउनुभयो । महाकाली नगरपालिकाले असार २४ गते आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तह (कक्षा ९–१०) मा ३३ जना नगर शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको छ । आधारभूत तहका ९ विद्यालयमा २१ जना र माध्यमिक तहका ७ विद्यालयमा १२ जना शिक्षक भर्ना गर्न विज्ञापन गरेको थियो । मालिकार्जुन गाउँपालिका–२ बस्ने सुन्दर सिंह धामी समेत ३ जनाको निवेदन उपर अधिवक्ताद्वय धिरेन्द्र साउँद र हरिशचन्द्र जोशीले गर्नुभएको बहस पछि विपक्षी महाकाली नगरपालिका नगरकार्यपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।