नेपाली आकाशमा उड्न छोड्यो भारतीय हेलिकोप्टर

0
921
फाईल फोटो

दार्चुला, असार २ गते ।
सीमा अतिक्रमणको विषय चर्किएको बेला दार्चुलाको नेपाली आकाशमा भारतीय सैन्य हेलिकोप्टर उड्न छोडेको छ । यसअघि दार्चुला सदरमुकाम खलंगा र खलंगाबाट उत्तरतर्फको नेपाली आकाशमा भारतीय सैन्य हेलिकोप्टर निर्वाध उडने गर्दथ्यो ।
नेपाल सरकारले लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको र सीमा क्षेत्रमा क्रियासिलता बढाएसंगै भारतीय सैन्य हेलिकोप्टरले नेपाली आकाशमा प्रवेश गरेको छैन । ‘पछिल्लो समय नेपाली सेनाको हेलिकोप्टरले सीमाक्षेत्रमा झण्डै एक दर्जन पटक उडान गरेपछि भारतीय सैन्य हेलिकोप्टर नेपाली आकाशमा आएको छैन’ दार्चुलास्थित एक सुरक्षा अधिकारीले भन्नुभयो ।
व्यासको छाङरु र घाटिबगडमा नेपाली सेनाको हेलिकोप्टरले झण्डै एक दर्जन पटक उडान गरेको छ । वैशाख ३१ गते छाङरुमा शसस्त्र प्रहरीको विओपी स्थापना गरिएको छ भने व्यास जोड्ने पैदल मार्ग खुलाउन घाटिबगडमा नेपाली सेनाको टोली राखिएको छ । छाङरु र घाटिबगडमा सुरक्षाकर्मी र बन्दोवस्तीको सामान ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ ।
एक महिनायता आधा दर्जन पटक सेनाको हेलिकोप्टर दार्चुला पुगेको छ । एउटै दिनमा धेरै पटक नेपाली सेनाको हेलिकोप्टरले सामग्री ढुवानी गरेको छ । सुरक्षाकर्मीका लागि आवश्यक खाद्यान्न र बाटो निर्माणको सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको जिल्लास्थित सुरक्षा अधिकारी बताउँछन् ।
सीमाक्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरले उडान गर्न थालेपछि भारतीय सैन्य हेलिकोप्टरले संयमित भएर उडान गर्न थालेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामी बताउनुहुन्छ । ‘यसअघि भारतीय हेलिकोप्टरले नेपाली आकाशमा निर्वाध रुपमा चक्कर लगाउथे तर पछिल्लो समय भारतीय सैन्य हेलिकोप्टरले नेपाली आकाशमा प्रवेश गरेका छैनन्’ उहाँले भन्नुभयो । भारतको धारचुलादेखि अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म महिनामा दर्जनौ पटक सैन्य हेलिकोप्टरले उडान गर्दछ ।
अर्को देशको आकाशमा हेलिकोप्टर उडान गर्न नपाइने व्यवस्था छ । ‘नेपाल र भारतबीच राम्रो सम्बन्ध भएकाले अप्रिय स्थिति आएको छैन तर अन्य देशको सीमाक्षेत्र भए दुर्घटना हुन्थ्यो । एकअर्का देशको आकाशमा उडान गर्न पाइदैन, विना अनुमतिको उडानलाई झारिदिएको अभ्यास छ’ जिल्लास्थित एक सुरक्षा अधिकारीले भन्नुभयो ।
एक महिनायता भारतीय सैन्य हेलिकोप्टरले महाकाली किनारको पश्चिमी आकाशमा मात्रै उडान गर्दैआएको भगवतीको वालशिखर टावरमा कार्यरत रेडियोकर्मी राजेन्द्रसिंह विष्टले बताउनुभयो । ‘धारचुलामा ल्याण्ड हुने हेलिकोप्टरले कालिकासम्म फन्को लगाएको देखिन्छ, नेपाली आकाश प्रवेश गरेको छैन’ उहाँले भन्नुभयो ।
उचाईमा उडान गर्दा प्राविधिक रुपमा आकाशमा फन्को लगाउनुपर्ने हुन्छ । पहाडको बीच होचो स्थान भएकाले महाकाली वारीपारीको आकाशमा भारतीय हेलिकोप्टरले उडान गर्दैआएका थिए । दार्चुला सदरमुकाम खलंगा आउने नेपाली सेनाको हेलिकोप्टर पनि महाकाली नदीको किनारैकिनारको आकाश भएर उडान गर्दछ ।
‘भारतीय आकाशमा प्रवेश हुनेमा नेपाली सेनाको हेलिकोप्टरले समेत सतर्कता अपनाएको देखिन्छ’ रेडियोकर्मी विष्टको भनाई छ । नेपाली सेनाको हेलिकोप्टर खलंगा पुग्दा र खलंगाबाट फर्किदा पनि कम उचाईमा महाकाली नदीको पूर्वी भाग नेपाली आकाश भएर मात्रै उड्ने गरेको उहाँले बताउनुभयो ।
नेपाली सेनाको एउटा एमआई १७ र अर्को ५ सिट क्षमताको हेलिकोप्टर दार्चुला आउने गर्दछ । व्यासको छाङरुसम्म पुग्नलाई केही उचाईमा हेलिकोप्टरको उडान गरिन्छ । घाटिबगडको महाकाली किनारमा हेलिकोप्टर ल्याण्ड गर्दा भने नेपालको प्रशासनले भारतीय प्रशासनलाई मौखिक जानकारी गराएको स्रोतले बतायो । अग्लो पहाडको होचो ठाँउमा हेलिप्याड भएकोले भारतीय आकाशमा पुग्ने सम्भावना भएकोले आपसमा समन्वय गरिएको स्रोतको भनाई छ । यद्यपि भारतीय आकाशका नेपाली सेनाको हेलिकोप्टर घुमाउनु नपरेको सुरक्षास्रोतको भनाई छ ।
भारतले पिथौरागढस्थित नैनीसैनी हवाइमैदानमा एउटा हेलिकोप्टर २४सैं घण्टा तयारी अवस्थामा राखेको छ । हप्तामा दुई/तिन दिन पिथौरागढबाट धारचुला हुँदै गुञ्जीसम्मको उडान हुने गर्दछ । भारतीय उच्च सैन्य अधिकारीबाट समय समयमा हेलिकोप्टरमार्फत निरीक्षण भ्रमण हुने गरेको छ । यसका साथै धारचुलादेखि लिपुलेकसम्मको सडक निर्माणमा उपकरण र सामग्री ढुवानीमा पनि हेलिकोप्टर प्रयोग गरिएका छन् ।