निर्माण कार्य पूरा नहुँदै दार्चुलाको नदी नियन्त्रण आयोजना बैतडी सर्‍यो

0
274

दार्चुला,मंसिंर १९ गते ।
दार्चुलामा सम्पर्क कार्यालय रहने गरी महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडी सरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतको आयोजनाको नाम परिवर्तन गरी सिचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालय नाम रहने गरी दार्चुला सदरमुकामबाट बैतडीको पाटन सारिएकाे हाे ।
कार्यालय पाटन सरेपछि सोमबार आयोजना प्रमुख सहित कर्मचारीहरु बैतडीको पाटन गएका छन्। मंगलबार पाटनमा कार्यालय व्यवस्थापन सहित कार्यालयको खाता संञ्चालनको तयारी गरिएको छ । दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकिएको छ । सम्पर्क कार्यालयमा नयाँ इन्जिनियर र शव इन्जिनियर आउने भएका छन । सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको इन्जिनियर विनोद बहादुर चन्दले जानकारी दिनु भयो । सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले चिनिने कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा हुने उहाँले बताउनु भयो ।
गत बैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलंगामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो । २०७० सालमा महाकाली नदीमा बाढी आउँदा महाकाली नदी नियन्त्रणका लागि महाकाली नदी नियन्त्रण आयोजना कार्यालय दार्चुलामा स्थापना गरिएको थियो । सरकारले आर्थिक वर्ष २०७१/०७२ बाट महाकाली नदीतटीय क्षेत्र नियन्त्रणका लागि सो आयोजनाको कार्यालय दार्चुलामा स्थापना गरेको थियो । दुई अर्ब ६७ करोड बराबरको बजेटमा सुरु गरिएको सो आयोजनाको काम दुई अर्ब ६२ करोड रकम बराबरको १७ वटा प्याकेजहरुको निर्माण कार्यहरु सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
महाकाली नदीको सहायक नदी चमेलिया नदी र नौगाड खोलामा पनि तटबन्ध निर्माणको कार्य भइरहेको आयोजनाले जनाएको छ । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वर क्षेत्र र नौगाड गाउँपालिका केन्द्रको संरक्षणका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले महाकाली नदी नियन्त्रण आयोजनाका लागि ६ करोड रुपैयाँ बजेट छुट्याएको छ । यता महाकाली नदी किनारमा तटबन्ध निर्माणको कार्य अधुरै छ भने मन्त्रिपरिषद्को निर्णयबाट आयोजना कार्यालयको नाम, कार्यालय रहने स्थान र कार्यक्षेत्र परिवर्तन गरिदिएका छन् । महाकाली नदी नियन्त्रण आयोजनाको नाम परिवर्तन गरी सिचाई तथा नदी व्यवस्थापन आयोजना बनाइएको छ ।
एकातिर एक दशकदेखि हुँदैआएको तटबन्ध निर्माणको कार्य पूरा नहुँदै कार्यालय सारिनु र अर्कोतर्फ बजेट घटाइनुले दार्चुला जिल्ला र सिमाक्षेत्रमाथि अन्याय भएको स्थानियले बताएका छन् । काम बाँकी छँदै कार्यालय सार्ने निर्णय प्रति दार्चुलेली जनताले सरकारको विरोध गरेका छन । कार्यालय सार्ने विषयमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुले पटक–पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर कार्यालय जिल्लाबाट नसार्न आग्रह गरेको भएपनि कार्यालय दार्चुला सदरमुकामबाट बैतडीको पाटन सारिएको छ ।