दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

0
475

दार्चुला, माघ ५ गते । 
जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ । 

दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुमा बर्सेनी बाढी, पहिरो लगायत विपद्का घटनाहरू हुने गरेको छन् ।
यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपीहिमाल गाउँपालिकालाई संकट ग्रस्त गाउँपालिका घोषणा गरिएको छ ।
दार्चुला जिल्लाका सबै स्थानिय तहहरुमा विभिन्न किसिमका प्राकृतीक विपद्का घटनाहरु हुने भएकाले सिङ्गो जिल्लालाई नै संकटग्रस्त जिल्ला घोषणा गरिनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
बुधबार बसेको बैठकले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुलाई संकटग्रस्त घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका विपद् व्यवस्थापन फाटका नायब सुब्बा राम राज पन्तले बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला भरिका स्थानीय तहहरुका वडाहरूमा विपद खोज उद्धार राहत सामग्री मौज्दात भए/नभएको विवरण माग गरेको छ ।
राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणको निर्णय अनुसार विपद खोज उद्धार राहत सामग्री मौज्दात भए नभएको विवरण माग भए अनुसार स्थानीय तहहरुलाई पत्राचार गर्ने निर्णय गरिएको पन्तले बताउनुभयो ।
उद्धार राहत सामग्रीमा स्ट्रेचर १ थान, बाल्टी ५ थान, डोरी २ सय मिटर, सेफ्टी हेलमेट ५ वटा, बन्चरो, आँसी वा हसिया, गैती, कोदालो, बेल्चा, हात खुट्टाको काम्रो, हाते आरी, लिभर र घन २/२ वटा हुनुपर्नेछ ।
टर्चलाइट तथा हेडलाईट ४ थान, सिट्ठी, प्राथमिक उपचार सामग्री  र अन्य सामग्री वडामा भए नभएको विवरण प्रशासन कार्यालयमा बुझाउन पत्राचार गर्ने निर्णय गरिएको छ । 

पीडित लाभग्राहीको विवरण पठाइने 

बुधबारकै विपद् व्यवस्थापन समितिको बैठकले संकटग्रस्त घोषणा भएका जिल्लाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकाका बाढीपहिरो पीडितहरू पहिचान गरि विवरण पठाएको छ ।
यस वर्षको मनसुनजन्य विपदबाट निजी आवास क्षतिग्रस्त भएका वा गुमाएका दुबै स्थानीय तहहरूमा लाभग्राहीहरूको विवरण राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन व्यवस्थापन प्राधिकरणमा पठाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका विपद् ब्यवस्थापन फाटका नायब सुब्बा राम राज पन्तले जानकारी दिनुभयो ।
अपी हिमाल गाउँपालिकामा आशिंक घर क्षति भएका ८ जनाको मर्मत तथा प्रबलीकरणका लागि सिफारिस गरिएको छ । दुँहु गाउँपालिकामा २ सय ४४ जनाको घर पुन निर्माणका लागि, १४ जनाको घरपरिवार पुन स्थापनाका लागि तथा २ सय ७२ जनाको प्रवलीकरणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।
चालु आर्थिक वर्षको हाल सम्म आफन्त गुमाएका तथा बेपत्ता परिवारका नजिकका ८ परिवारलाई १४ लाख र निजी आवास, घरजग्गा, जमिन, खाद्यबाली तथा पसलमा क्षति भएका १ सय ३७ परिवारलाई १८ लाख १६ हजार राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
घर मर्मत र प्रवलिकरणका लागि ५० हजार, घर गुमाएकाले ५ लाख र घर सहित जमिन समेत गुमाएका परिवारले ८ लाख रुपैयाँ राहत पाउनेछन् ।