‘नदी फोहोर गर्ने होइन पूजा गर्नुपर्छ’ भन्ने सन्देश दिन दीप प्रज्वलन 

0
433
महाकाली नदी किनारमा गरिएको दिप प्रज्वलन

दार्चुला, माघ ४ गते । 
महाकाली नदी स्वच्छता, सरसफाइ र संरक्षणका लागि दार्चुलामा ‘पवित्र महाकाली स्वच्छता अभियान’ सञ्चालन गरिएको छ । गत पुष १७ गते महाकाली नदीको स्वच्छताका लागि सामूहिक संकल्प गरि नदी स्वच्छता अभियानको शुभारम्भ गरिएको हो । 

हिन्दु धर्मावलम्बीहरूको विषेश धार्मिक महत्वको महिनाको रुपमा रहेको माघ महिना सुरुवातका दिन तथा पुष शुक्ल पूर्णिमा तिथि माघ ३ गते का दिन महाकाली नदी किनारमा १ हजार ८ दीप प्रज्वलन गरि नदीको पुजा गरिएको ‘पवित्र महाकाली स्वच्छता अभियान’का संयोजक शंकर सिह धामीले बताउनुभयो ।
नदी सफा राख्नुपर्छ भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरि नदीको पुजा गरिएको धामीको भनाई छ । हिन्दु धर्ममा महाकाली नदीको आफ्नै महिमा छ । माता कालीको अवतारका रुपमा महाकाली नदीलाई लिइन्छ । धामीले थप्नुभयो ‘ प्रकृतिको अनुपम, अद्धितिय सम्पदा पवित्र महाकाली नदीको किनारमा जीवन यापन गर्न पाइरहेका छौ,  समयमै यसको संरक्षण गर्नु आवश्यक छ, यसको महत्व सबैले बुझुन् भनेर नदीको पुजा गरिरहेका छौ’ ।  महाकाली नदी नेपाल र भारतको सीमा नदी भएकाले दुबै देशका नागरिकहरु सचेत भएमा नदी स्वच्छ रहन्छ ।
महाकाली नदीले हामीलाई स्वच्छ हावापानी, ढुङ्गा गिट्टी बालुवा लगायत नदी जन्य पदार्थ दिने मात्रै नभई यसले देशको सीमा सुरक्षा समेत गरेको छ । हाल महाकाली नदी सरसफाइका प्रमुख चुनौतीहरू नदी किनारमा दिशा, पिसाब गर्ने, फोहोरमैला जथाभावी फाल्ने, सिसाका बोतलहरू नदीमा फाल्ने लगायत रहेका छन् । महाकाली नदीमा निर्माण गरिएको तटबन्ध क्षेत्रमा फोहोर फालेर थुप्रो पारिएको छ । 


महाकाली नगरपालिकाले बजार क्षेत्रको सरसफाइका लागि सडक भएको ठाउँमा टप्पर तथा भित्री गल्लीहरूमा फोहोर संकलन गर्ने कर्मचारीको व्यवस्थापन गरेको छ । फोहोर सङ्कलनका लागि यत्रो ब्यवस्था गर्दा समेत खलंगाबासिहरु फोहोर फाल्न किन नदीमा पुग्न भन्ने प्रश्न उब्जिएको छ ।
महाकाली नदी पवित्र हो भन्ने चेतनाको कमी तथा सम्मान भाव नभएकाले फोहोर गर्ने समस्या रहेको छ । महाकाली नदी प्रतिको सम्मान भाव जगाउनु आजको आवश्यकता रहेको छ ।
बुधबार महाकाली नदीमा दिप प्रज्वलनका क्रममा नदी स्वच्छता अभियानमा संलग्नहरूले खलंगाबासिलाई ‘हामी नदीको पुजा गर्दैछौ, तपाई फोहोर गर्नु भन्दा यसको महत्व बुझेर पुजा गर्नै कि’ ? भन्ने सन्देश दिएका छन् ।