दार्चुला, साउन ५ गते ।
दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा दर पुनरावलोकन गरिएको छ । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको अध्यक्षतामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले नयाँ गाडीभाडा दर निर्धारण गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै यातायात व्यवसायीले आफुखुशी गाडीभाडा निर्धारण गर्दैआएका थिए । यसबारे आवाज उठेपछि जिल्ला प्रशासनले दुई महिनाअघि गाडीभाडा पुनरावलोकनको गृहकार्य थालेको थियो ।
वैशाख अन्तिम साता सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको संयोजकत्वमा उपसमिति बनाएर गाडीभाडा दर सम्बन्धि अध्ययन–विश्लेषण गरिएको थियो । एक महिनासम्म गरिएको गाडीभाडा अध्ययन–विश्लेषणपछि गत असार ४ गते पहिलो बैठक राखिएको थियो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी अनिल पौडेल अध्यक्षताको सो बैठकले थप एक हप्ताको समय दिएर सरोकारवालाहरुसंग सुझाव मागेको थियो । असार ११ गते बसेको अर्को बैठकले समेत गाडीभाडा टुंग्याउन सकेको थिएन ।
गाडीभाडा सम्बन्धि स्थानीय तहहरुबाट संकलिन विवरण यथार्थपरक नभएको भन्दै प्रश्न उठेपछि गाडीभाडाको विषय अलपत्र जस्तै बनेको थियो । यसबीचमा असार १९ गते प्रजिअ अनिल पौडेलको दार्चुलाबाट सरुवा समेत भयो ।
स्थानीयस्तरमा सञ्चालनमा रहेका सडकहरु र गाडीभाडाको विवरण स्थानीय तहहरुसंग मागिएको थियो । तर स्थानीय तहहरुले यस सम्बन्धि विवरण उपलब्ध गराउन ढिलाइ गरेको जिल्ला प्रशासनको भनाई छ ।
स्थानीय तहबाट विवरण संकलनमा ढिलाइ भएको र संकलित विवरण पनि यथार्थ नभएको पाइएपछि नयाँ गाडीभाडा निर्धारणको विषय अगाडि बढ्न सकेको थिएन । असार २६ देखि दार्चुलामा प्रजिअको जिम्मेवारी सम्हालेका नयाँ सिडिओ वर्तराज पौडेलले थप गृहकार्य गरेर मंगलवार बैठक बोलाएका हुन् ।
मंगलवारको बैठकले सैद्धान्तिक रुपमा कालोपत्रे सडकमा प्रतिकिलोमिटर साढे ७ रुपैयाँका दरले नयाँ गाडीभाडा निर्धारण गर्ने निर्णय गरेको छ । ग्राभेल सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १६ रुपैयाँ गाडीभाडा निर्धारण गरिएको छ ।
जिल्लाभित्रका सबै सडक रुटहरुमा एकसाथ कार्यान्वयन हुनेगरी नयाँ गाडीभाडा निर्धारण गरिएको प्रजिअ पौडेलले बताउनुभयो । ‘हामीले यातायात व्यवसायी र उपभोक्ता दुबै पक्षको हित हेरेर नयाँ भाडादर टुंगो लगाएका छौं, सबै पक्षबाट पूर्णरुपमा कार्यान्वयन हुनेगरी नयाँ गाडीभाडा दर निर्माण गरिएको छ’ उहाँले भन्नुभयो ।
जिल्लाभित्रका एक सयभन्दा बढी सडक रुटको गाडीभाडा नयाँ दररेटअनुसार निर्धारण हुने सहायक प्रजिअ मोहन सिंह धामीले भन्नुभयो । ‘हामीले स्थानीय तह, यातायात व्यवसायी र सबै सरोकारवालाबाट विवरण संकलन गरेका छौं, नयाँ दररेटअनुसार हरेक रुटको गाडीभाडा निर्धारण गर्छौ’ उहाँले भन्नुभयो ।
गाडीभाडा निर्धारण सम्बन्धि मंगलवारको बैठकले जिल्ला प्रशासन कार्यालयलाई नयाँ गाडीभाडा दरअनुसार सबै सडक रुटको गाडीभाडा विवरण तयार गर्न जिम्मेवारी दिइएको छ । प्रशासन कार्यालयले गाडीभाडा विवरण तयार गरी सार्वजनिक गरेको मितिदेखि नयाँ गाडीभाडा लागू हुने निर्णय गरिएको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति राजेश सिंह सामन्त र नेकपाका प्रतिनिधि खडक सिंह धामीको उपस्थिति थियो । काग्रेस, एमालेसहित अन्य दलहरुको भने उपस्थिति थिएन ।








