दार्चुला, साउन ५ गते ।
सार्वजनिक सेवा दिने जिम्मेवारीसहित सरकारी कार्यालयहरु स्थापित र सञ्चालित हुन्छन् । धेरै प्रकारका सेवाप्रवाह गर्नुपर्ने भएकोले कार्यालयको संरचना हुन्छ र सम्बन्धित फाँट, अधिकारी र कर्मचारी पनि तोकिएका हुन्छन् । तर दार्चुलामा रहेको अध्यागमन तथा सीमा प्रशासन कार्यालयले नागरिकलाई एउटा मात्रै सेवा दिइरहेको छ ।
पञ्चायतकालमै स्थापना भएको सीमा प्रशासन कार्यालयको नाम हाल परिवर्तन गरिएको छ । अध्यागमन तथा सीमा प्रशासन कार्यालय नाम दिइएको छ । तिंकर नाकामा अध्यागमन सेवा दिने उद्देश्यले सीमा प्रशासनसंगै अध्यागमन पनि जोडिएको हो ।
दुई वर्षअघि कार्यालयको नयाँ नामांकरण गरिएसंगै छाङरुमा रहेको कार्यालयको ठेगाना पनि तिंकर सरेको छ । सबैले यो ठेगाना परिवर्तनलाई पनि स्वाभाविक ठाने । तिंकर नाकामा अध्यागमन सेवा पाइने अपेक्षासहित ठेगाना परिवर्तनप्रति कसैको आपत्ति र प्रश्न पनि देखिएन ।
तर, शाखा अधिकृतसहित ६ जना कर्मचारी दरबन्दी रहेको अध्यागमन कार्यालयले नागरिकलाई एउटा मात्रै सेवा दिदैआएको छ । भारतीय बाटो हुँदै व्यासक्षेत्र जाने नेपालीलाई बहुयात्रा अनुमतिपत्रको सिफारिस गर्नु अध्यागमन तथा सीमा प्रशासन कार्यालयको एक मात्र कार्य बनेको छ ।
हाल वरिष्ठ अध्यागमन सहायक (नायब सुब्बा) गोपाल सिंह बोहरा निमित्त कार्यालय प्रमुख छन् । यसअघि कार्यालय प्रमुख रहेका शाखा अधिकृत मोहन सिंह धामी दार्चुलाकै सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भए । निमित्त कार्यालय प्रमुख बोहरासंगै एकजना अध्यागमन सहायक (खरिदार), सहायक लेखापाल, सहायक कम्प्युटर अपरेटर र दुइजना कार्यालय सहयोगी गरी कार्यालयमा हाल ६ जना कर्मचारी छन् । शाखा अधिकृतको दरबन्दी खाली छ ।
हाल कार्यरत कर्मचारीको संख्या ६ रहेको निमित्त प्रमुख बोहराले बताउनुभयो । कार्यालयले नागरिकलाई दिने सेवा भने एकप्रकारको मात्रै रहेको उहाँको भनाई छ । ‘हामीलाई तोकिएको जिम्मेवारी यति हो, यसबाहेक नागरिकले हामीसंग पाउने अन्य सेवा केही छैन’ उहाँले भन्नुभयो ।
मासिक रुपमा सीमाक्षेत्रको अवस्थाबारे अध्यागमन विभाग र गृह मन्त्रालयमा प्रतिवेदन पठाउने गरिएको बोहराले बताउनुभयो । ‘हरेक महिना सीमाक्षेत्रको वस्तुस्थिति समेटेर प्रतिवेदन पठाउँछौं’ उहाँले भन्नुभयो ।
सीमाक्षेत्रको बारेमा सुरक्षा निकाय, स्थानीय वासिन्दा र अन्य सरोकारवाला पक्षबाट जानकारी संकलन गर्ने गरिएको सीमाका कर्मचारी बताउँछन् । मौखिक सुचना संकलनका आधारमा प्रतिवेदन तयार गरिन्छ । कतिपय सुचना र जानकारीलाई आफ्नोस्तरमा अध्ययन, विश्लेषण पनि गर्ने गरिएको सीमाका एक कर्मचारीको भनाई छ ।
पछिल्लो समय अध्यागमन विभागअन्तर्गतको कार्यालय बनाइएपछि विभागमा प्रतिवेदन पठाइने गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा मासिक प्रतिवेदन पठाइन्थ्यो । गृह मन्त्रालयमा सीमा तथा अध्यागमन शाखालाई प्रतिवेदन पठाइन्छ ।
टिंकरको ठेगानामा रहेको अध्यागमन तथा सीमा प्रशासन कार्यालय हाल खलंगास्थित जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चालन भइरहेको छ । प्रशासन कार्यालयको पुरानो भवनमा अध्यागमन कार्यालयको साइनबोर्ड छ ।
एउटै कोठामा कार्यालय सञ्चालन गरिएको छ । तीनवटा टेबुल, कुर्सीहरु, दराजसहितका सामान राखिएका छन् । सबै कर्मचारी एउटै कोठामा बसेर काम गर्छन् । बहुयात्रा अनुमतिपत्रको सिफारिसका लागि आउने सेवाग्राहीलाई त्यही कोठाबाट सेवा दिइदैआएको छ ।
कार्यालयको ठेगाना तिंकर भनिए पनि त्यहाँ पूर्वाधार नहुँदा खलंगामै कार्यालय राखिएको निमित्त प्रमुख बोहराको भनाई छ । ‘माथिल्लो निकायबाट थप केही निर्देशन आएको छैन, खलंगामै बसेर बहुयात्रा अनुमतिको सेवा दिइरहेका छौं’ उहाँले भन्नुभयो ।
व्यासक्षेत्रका स्थानीयका साथै अन्य भेगका नेपाली नागरिक बहुयात्रा अनुमतिपत्र बनाएर भारतीय बाटो हुँदै व्यासक्षेत्र पुग्छन् । भारतको धारचुलास्थित एसडिएम कार्यालयले स्वीकृति दिने बहुयात्रा अनुमतिपत्रलाई अध्यागमन कार्यालयले प्रमाणित गर्दछ ।
जिल्ला समन्वय समितिको कार्यालयबाट फोटोसहित अनुसुची फारम भरेपछि जिससका कर्मचारीले फोटो प्रमाणितसहितको सिफारिस गर्छन् । उक्त फारमलाई अध्यागमन कार्यालयले प्रमाणित गर्दछ । जिसस र सीमा प्रशासनको छाप र आधिकारिक हस्ताक्षर भएपछि धारचुलाका एसडिएमका अनुमतिपत्र स्वीकृत गर्दछन् ।
टिंकर नाकाबाट ताक्लाकोट प्रवेश गर्ने नागरिकलाई नेपाल–चीन प्रवेश अनुमतिपत्र जारी हुने गर्छ । तर यो अनुमतिपत्र जिल्ला प्रशासन कार्यालयअन्तर्गतको राहदानी फाँटले दिने गरेको छ । विगत तीन वर्षदेखि यो जिम्मेवारी राहदानी फाँटले हेर्दैआएको प्रशासन कार्यालयका कर्मचारी बताउँछन् ।
टिंकर नाकामा अध्यागमन सेवा सुरु भएपछि खलंगामा रहेको अध्यागमन तथा सीमा प्रशासन कार्यालय तिंकर सर्ने आशा छ । तर टिंकर नाकाबाट अध्यागमन सेवा सञ्चालनका लागि नेपाल र चीनबीच औपचारिक नाका सञ्चालनको सहमति हुनुपर्छ ।
हालसम्म परम्परागत रुपमा मात्रै टिंकर नाका सञ्चालनमा छ । दुई देशबीचको औपचारिक नाकाको मान्यता पाएपछि टिंकरबाट अध्यागमन सेवा उपलब्ध हुनेछ ।
पवित्र कैलाश–मानसरोवर यात्राका लागि टिंकर नाकाबाट अध्यागमन सेवाको माग हुँदैआएको छ । सरकारले अध्यागमन कार्यालय बनाएको छ तर सेवा सञ्चालन हुन सकेको छैन ।






