प्रधानमन्त्री कार्यालयको उजुरीले पनि ग्यासको मूल्य घटेन

0
31

दार्चुला, साउन ३ गते ।
दार्चुलामा ग्यास सिलिण्डरको चर्को मूल्य भएको विवरणसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित उजुरी दिदा पनि यसमा सुनुवाई भएको छैन । प्रधानमन्त्री कार्यालयअन्तर्गत हेलो सरकारमा ग्यासको चर्को मूल्यबारे असार दोस्रो साता उजुरी दर्ता गरिएको थियो ।
हेलो सरकारले वाणिज्य विभाग र वाणिज्य विभागले जिल्ला प्रशासन कार्यालयलाई यसबारे पत्राचार गर्नुबाहेक केही उपलब्धि भएको छैन । उजुरीको व्यहोरासहित जिल्ला प्रशासन कार्यालयमा पत्र आएपछि असार १९ गते ग्यास बिक्रेताहरुसंग छलफल राखिएको थियो ।
आधा भरिएको सिलिण्डरमा २० रुपैयाँ मूल्य घटाउने खलंगाका ग्यास बिक्रेताले प्रतिवद्धता गर्नुबाहेक केही उपलब्धि हुन नसकेको सरोकारवाला बताउँछन् । दार्चुलामा ग्यास सिलिण्डर ढुवानीमा अस्वाभाविक खर्च देखाएर चर्को बिक्रीमूल्य निर्धारण गरिको छ ।
धनगढीदेखि खलंगासम्मको ग्यास ढुवानीमा प्रति सिलिण्डर २३० देखि २८० सम्म देखाइएपछि यसबारे जिल्ला प्रशासनले आयल निगमको धनगढीस्थित प्रादेशिक कार्यालय र ग्यास कम्पनीहरुसंग छलफल गरेको छ । तर ढुवानी भाडाबारे निगम र ग्यास कम्पनीले आफुहरु जिम्मेवार नभएको बताएका छन् ।
ग्यास कम्पनीको गाडीमा सिलिण्डर ढुवानी गरिदा धनगढीदेखि गोकुलेश्वरसम्म प्रतिसिलिण्डर ११० मा ढुवानी हुने गरेको छ । त्यही सिलिण्डर धनगढीबाट खलंगा ढुवानी गरिदा भने रेडियन्ट ग्यास कम्पनीले २३० र सैपाल ग्यास कम्पनीले २६५ रुपैयाँ ढुवानी भाडा लिने गरेको तथ्यांक छ ।
खलंगाका ग्यास बिक्रेताले अन्य निजिक्षेत्रका गाडीबाट सिलिण्डर ढुवानी गर्दा प्रतिसिलिण्डर २८० सम्मको ढुवानी भाडा देखाइरहेका छन् । अस्वाभाविक ढुवानी भाडा देखिएको भन्दै यसबारे थप अध्ययन गरी टुंगो लगाउने निस्कर्ष असार १९ मा लगाइएको थियो ।
त्यहि दिन दार्चुलाका सिडिओ अनिल पौडेलको सरुवा भयो । चार दिनपछि असार २३ मा विदाइ गरेर पौडेलले दार्चुला छोडेपछि ग्यासको विषय त्यतिकै थाति रहेको छ ।
नयाँ सिडिओको जिम्मेवारीमा आएका वर्तराज पौडेलसंग असार २७ गते पत्रकारहरुले परिचयात्मक कार्यक्रममै ग्यासको विषय उठाएका छन् । यसबारे सम्बन्धित पक्षसंग बुझेर उचित टुंगो लगाइने प्रजिअ पौडेलको भनाई छ ।
असार ३१ देखि आयल निगमले पूरै भरिएको ग्यास सिलिण्डर बिक्री सुरु गरेको छ । भोलिपल्ट असार ३२ देखि पूरै भरिएको ग्यास सिलिण्डर खलंगामा पुगेको छ र २५ सय रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । तर स्थानीय प्रशासन यसबारे अध्ययनमै छ । छलफल समेत सुरु हुन सकेको छैन ।
हेलो सरकारमा उजुरी दिएका पत्रकार शंकर सिंह धामीले ग्यासको मूल्य नियन्त्रण र बजार अनुगमनबारे जिम्मेवार निकाय गम्भीर नभएको बताउँछन् । ‘यति महत्वको र प्रधानमन्त्री कार्यालयमै उजुरी परेको विषयमा गम्भीर भएर तत्कालै सुधार गर्नुपर्ने हो । तर, जिम्मेवारी निर्वाहमा ढिलाइ गर्ने, सकभर टाल्ने र पछि धकेल्ने प्रवृति देखिन्छ’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा आधा भरिएको ग्यास सिलिण्डरको बिक्रीमूल्यको विवरणसहित उजुरी दर्ता गरिएको थियो । धनगढीदेखि सबैभन्दा बढी सडक दूरी रहेको बाजुरामा १३ सय ५० मा ग्यास सिलिण्डर बिक्री भइरहदा दार्चुलामा १४ सय ५० रुपैयाँ मूल्य राखिएको उजुरीमा उल्लेख थियो । धनगढीदेखि बाजुरा ३३७ किलोमिटर र दार्चुला ३२३ किलोमिटर सडक दूरीमा छ ।
यसअघि केही स्थानीयले सामाजिक सञ्जालमा आधा भरिएको ग्यास सिलिण्डर १५ सय रुपैयाँमा खलंगामा बिक्रीवितरण भइरहेकोमा प्रश्न उठाएका थिए । तत्कालै जिल्ला प्रशासनले ग्यास बिक्रेताहरुलाई बोलाएर ग्यासको मूल्यमा ५० रुपैयाँ घटाएको थियो । तर ५० रुपैयाँ घटाएर १४ सय ५० रुपैयाँ कायम गरिएको मूल्य पनि न्यायोचित नभएको भन्दै उजुरी गरिएको थियो । ग्यास बिक्रेताहरुसंगको छलफलमा जिल्ला प्रशासनले मूल्यबारे गुनासो गर्ने पक्षलाई भने बोलाएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here